फागुन १ गतेबाट ‘कठपुतली’को प्रदर्शनी निरन्तर हुने, दर्शकले ‘आईफोन १२’ सँगै ‘आईप्याड’ पनि पाउने
काठमाण्डौ,माघ २८ । आगामी फागुन १ गतेबाट चलचित्र हलहरु खुल्ने भएपछि चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शनीलाई निरन्तरता दिने भएको छ । गत पुष १६ गते रिलीज भएको यो चलचित्र तेश्रो हप्तामा प्रदर्शन भईरहेको समयमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो । कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट तेस्रो पटक सिनेमा हल बन्द गरेको थियो ।
रिलीजको पहिलो हप्ता देशभरका मल्टीप्लेक्सहरु र सिंगल थिएटरमा उत्साहपुर्ण व्यापार गरेको ‘कठपुतली’ले दोश्रो हप्तामा पनि सुखद व्यापार गरेको थियो । अधिकांश हलहरुमा सफल प्रदर्शन भइरहेको समयमा नै रिलीज रोकिएको कारण पुनः रिलीज गर्न लागिएको वितरक कम्पनी डिसिएनका अशोक शर्माले बताए ।
‘माउथ पब्लिसिटी’ बलियो रहेकाले अझै पनि यो चलचित्र हेर्न हलसम्म दर्शक आउने अपेक्षा निर्माण पक्षले गरेको छ । ”कठपुतली’ हेर्न चाहेका र रिलीजको तेश्रो हप्तासम्म हेर्ने समय मिलाउन नसकेका, जसले हलमै चलचित्र हेर्न चाहन्छन्, ति दर्शकको लागि हामीले रिलीजलाई निरन्तरता दिने निर्णय गरेका हौं’, निर्माता पृथ्वी राना मगरले बताए ।
तेश्रो हप्तामा पनि ‘कठपुतली’ ले क्यूएफएक्स चेन, एफक्यूब सिनेमाज्, विएसआर सिनेमाज्, वान् सिनेमाज्, सिटिसी सिनेमाज्, क्यूज सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपूर सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा राम्रो शो पाईरहेको थियो ।अघिल्ला दुई हप्ता हलमा दर्शकको अकुपेन्सी सुखद रहेकाले मल्टीप्लेक्सहरुले तेस्रो सातामा पनि चलचित्रको शो यथावत राखेका थिए । दर्शकहरुबाट चलचित्र ‘डार्क’ भयो भन्ने प्रतिक्रिया आएपछि निर्माण टिमले यसको समाधान गरेको थियो ।
यसैबीच, निर्माण टीमले दर्शकलाई अगाडी सारेको आकर्षक उपहार योजना दर्शकलाई ‘आइफोन १२’ दिने निर्णयलाई पुन: निरन्तरता दिईने भएको छ । यो योजनालाई थप आकर्षक बनाउन ‘आईप्याड’ पनि प्रदान गरिने गरी थप गरिएको छ । यसअघि चलचित्र चल्दाचल्दै हल बन्द भएपछि रिलीजको केहि समयपछाडी ‘आइफोन १२’ दिने समय पनि थप गरिएको थियो । चलचित्र हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक-एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’र ‘आईप्याड’ प्रदान गरिने बताईएको छ ।
यो योजनामा सहभागि हुन दर्शकले केहि नियम पालना गर्नुपर्ने हुन्छ । एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ, टिकट नम्बरको आधारमा मान्यता जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनैपनि सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा ‘क्याप्सन’मा #KATHAPUTALI #WINIPHONE लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टीमले प्राप्त गर्नेछ । प्रत्यक्ष रुपमा ‘लक्की ड्र’ गरी विजेता घोषणा गरी उपहार दिईने बताईएको छ ।
पृथ्वी राना प्रडक्शनको निर्माणमा तयार भएको ‘कठपुतली’का निर्देशक भिमसेन लामा हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका चलचित्रका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।