शेष घले पक्ष पुग्यो परराष्ट्र मन्त्रालय उपेन्द्र महतो पक्षको के होला बैधानिकता
काठमाण्डौं,चैत १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन शनिवार देखि सुरु भई आइतवार सम्पन्न भएको छ । महाधिवेशनले ३ अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरेको छ । तर अर्को एक पक्ष भने एनआरएनएको महाधिवेशन सम्पन्न भइसकेको र १२ सदस्यिय कार्यसमिति गठन भइसकेको भन्दै परराष्ट्र मन्त्रालय पुगेको छ । एनआरएनएको आधिकारीक ब्यक्ति आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको हो । शेष घले पक्षले चैत ९ गते नै महाधिवेशन सम्पन्न गरी विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
सोही समुहलाई आधिकारीकता दिन आग्रह गर्दै पत्र दर्ता गराउन घले पक्ष आइतवार परराष्ट्र मन्त्रालयमा पुगेको छ । चैत ९ गते काठमाडौंको याक एण्ड यतिमा महाधिवेशन सम्पन्न भएको थियो । याक एण्ड यतिमा मार्च २४ तारिखका दिन एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो । निवेदनमा संघको विधानका केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएकाले त्यसलाई प्रमाणीकरण गर्न भनिएको छ ।
यता संस्थापनले हाल कायम विधानको व्यवस्थालाई परिवर्तन गरी ३ अध्यक्ष रहने ब्यवस्था गरी नयाँ कार्य समिति चयन गरेको छ । यो अवस्था आगामी महाधिवेशनमा नजिरका रुपमा नरहने उल्लेख गरिएको छ । शनिबार ललितपुरको होटल हिमालयमा भएको विश्व सम्मेलनले संघको विधान संशोधन गरेर भविष्यमा नजिर नपर्ने गरी तीन अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसका लागि उपेन्द्र महतोको नेतृत्वमा ७ सदस्यीय निर्वाचन मण्डल समेत घोषणा गरिएको थियो ।
सो निर्णयपछि घले समूहले आफूलाई आधिकारिक दाबी गर्दै संस्थापन समूहभन्दा पहिले परराष्ट्र मन्त्रालयमा पुगेर विधानमा एकभन्दा बढी अध्यक्ष चयन गरिनु अवैध हुने ठहर सहित निवेदन दिएको हो । संस्थापनले हलबाट गरेको निर्णय परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले सो अघि नै घले पक्ष परराष्ट्रमा पुगेको छ ।