फेरी बढ्यो पेट्रोल र ग्यासको भाउ कती पुग्यो मुल्य ?
काठमाण्डौ,चैत २३ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।
राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । यो सँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।
उता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने बताइएको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।