“अर्थपूर्ण जीवन बाँच्न सिक”- कमला प्रसाईं ( कबिता )
“अर्थपूर्ण जीवन बाँच्न सिक”
ती दिनहरु
तबसम्म सजिला थिए
जबसम्म नेपालीका स्वाभिमानी पाखुरा बलिया थिए
हरेक समाज, देशका लागि गरिने सम्झौताहरु
बिचार,सल्लाह गरेर मात्र अगाडि बढ्थे!
आज त हिजोका तिनै पू्र्खाहरु
कमजोर भए, बनाइए
जुनदिन अफ्ठ्यारोमा परिन्छ
जब निस्कन नसक्ने गरि दलदलमा फँसिन्छ
त्यतिबेला सल्लाह दिने बुढापाका
सल्लाह दिने आफन्त अनि साथीभाइ
सबैको याद झल्झली आईरहनेछ
अनि त्यस पछाडिका दिनहरु
लौरो र वैंशाखी खोज्दै
आत्मविश्वासको पाइला गुमाएर
पछुतो नै पछुतो हुनेछ
अन्तिममा
परिश्रमी र स्वावलम्बी भएर बाँच्न खोज्दा
जीवन धेरै टाढा पुगिसकेको हुनेछ
त्यसैले
टेक्ने खुट्टाहरु
र बोलिने आवाजहरु जहिले पनि
अर्थविनाको होइन कि अर्थ बोकेको हुनुपर्छ ।
इमानदारिता र स्वाभिमान बोकेको हुनुपर्छ ।।।