एनएफपीजे द्धारा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला फोटोपत्रकारलालाई सम्मान घोषणा
काठमाण्डौं,फागुन २४ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटोपत्रकार विशेष नारी सम्मानको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका दुई जना फोटोपत्रकारलाई सम्मान गर्ने घोषणा गरेको हो।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको केन्द्रीय कमिटी बैठकले पहिलो महिला फोटोपत्रकार उषा तितिक्षु (तिवारी) र सगरमाथा आरोही साहसी महिला फोटोपत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
बैठकले उक्त सम्मान आगामी वैशाख १३ गते राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरि सम्मान गर्ने निर्णय गरेको छ ।
को हुन् फोटोपत्रकार उषा तिवारी तितिक्षु ?
२०४६ सालदेखि निरन्तर फोटोग्राफी संर्गै फोटोपत्रकारितामा सक्रिय नेपालकै पहिलो महिला स्वतन्त्र फोटो पत्रकार हुन उषा तितिक्षु । उनी पाल्पा तानसेनमा मध्यमवर्गीय परिवारमा जन्मिएकी तिवारी । फोटोग्राफीमा चाहिँ उनले पाइला अञ्जानअञ्जानमै टेकेको देखिन्छ । उनको परिवारमा बुबाआमा नै फोटोका सोखिन थिए । जागिरे बुबाले बेलाबखत स्टुडियोमा गएर परिवारको फोटो खिचाउँथे । तौलिहवामा हुँदा बुबाले स्टुडियोको फोटोग्राफरलाई ल्याएर फोटो खिचाएको उनी सम्झिन्छिन् । व्यावसायिक फोटोग्राफर वा पत्रकार उषाको परिवारमा कोही थिएन ।
कान्तिपुर, द काठमाडौं पोस्ट, हिमाल खबर, मूल्याङ्कन, युगसंवाद, दृष्टि, अस्मितालगायत थुप्रै पत्रिकाले उनले खिचोका तस्वीर छापेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेको बखत उनले खिचेका केही तस्वीरको चर्चा विदेशमा पनि भयो । बहुदलपछि देशमा भएका महत्त्वपूर्ण राजनीतिक घटना, परिघटनालाई क्यामेरामा कैद गर्न सफल हुनु भएको थियो ।
३३ वर्ष भइसक्यो, उषाले क्यामेराको लेन्सलाई अगाडि पारेर दौडिएको । ५१ वर्षीया उनको प्रण छ, हातगोडाले काम गरेसम्म क्यामेरा नबिसाउने । बरु फोटोकारितासँगै उनले आफैँलाई अर्को जिम्मेवारी सुम्पेकी छन्( शान्ति र मानवअधिकारका लागि खट्ने । अपाङ्गता भएका, मानव बेचबिखनबाट प्रभावित, यौनिकरलैङ्गिक समुदाय एवं द्वन्द्वप्रभावित व्यक्तिहरूको अधिकारको पक्षमा उनी वकालत गरिरहेकी छिन् ।
हाल उनी फोटो पत्रकारिता सँगसँगै अपाङ्गता भएका, मानव बेचबिखनबाट प्रभावित, यौनिक लैङ्गिक समुदायलगायत भेदभावमा परेका व्यक्तिको अधिकारका पक्षमा, द्वन्द्वप्रभावित व्यक्तिहरूको मुद्दामा पनि काम गरिरहेकी छन् ।
को हुन् फोटोपत्रकार पूर्णिमा श्रेष्ठ ?
गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ। भीमोदय मावि आरुघाटबाट एसएलसी गरेकी उनले सिटिजन इन्टरगेट कलेजबाट पत्रकारितामा स्नातक गरेकी छिन् ।
एक दशक देखि फोटोपत्रकरितामा सक्रिय पुर्णिमा कारोबार राष्ट्रिय आर्थिक दैनिक, न्यूयोर्क टाइम्स लगायत विभिन्न विदेशी मिडियामा आबद्ध रहेको अनुभव छ ।
श्रेष्ठको नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै कीर्तिमान कायमसमेत गरेकी छन्।