बाला चतुर्दशीको अघिल्लो साँझ आज दिवंगत पितृका नाममा बत्ती बालिने परम्परा
काठमाण्डौं,मङ्सिर १४ गते । बाला चतुर्दशीको अघिल्लो साँझ आज दिवंगत पितृका नाममा बत्ती बालिने परम्परा छ। आज साँझ पितृको नाममा बत्ती बाली भोलि बिहान सत्बीज छर्ने गरिन्छ। बत्ती बाल्नको लागि आज देशभरका शिव मन्दिरहरुमा भक्तजनहरु जाने गर्छन्। पशुपतिमा पनि बत्ती बाल्नका लागि आज बिहानदेखि नै मानिसहरुको भीड लागेको छ।
पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुको सुविधाका लागि विभिन्न व्यवस्थाहरु गरेको छ। बाला चतुर्दशी पर्वमा कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ। पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि पसल राख्न निषेध गरिएको हो।
बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ। दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ। नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार १०० रुपैयाँका दरले शुल्क लिएको छ। शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ-आफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ।
पशुपतिनाथको मेलाका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ। यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ।