ऊर्जा मन्त्री दीपक खड्कासँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता
काठमाडौ,चैत ३ गते । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय दीपक खड्कासँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को केन्द्रीय समितिले भेटवार्ता गरेको छ। शुक्रबार एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले मन्त्रालयमा भेटवार्ता गरेको हो ।
भेटवार्ताका क्रममा फोटो पत्रकारितालाई थप प्रभावकारी बनाउन नीति निर्माण तथा सहकार्यका सम्भावनाहरूबारे गहन छलफल भएको एनएफपिजे नेपालका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले संस्थाले बैशाख १३ मा गर्न लागेको फोटो पत्रकारिता अवार्डबारे जानकारी गराउनुका साथै प्रविधिसँग मेल खाने नीति निर्माण, फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सरकारको सहयोगको अपेक्षा राखेका थिए ।
मन्त्री खड्काले फोटो पत्रकारहरूको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, ऊर्जा तथा जलस्रोत विकासका प्रयासहरूलाई आमजनता माझ पुर्याउन फोटो पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले फोटो पत्रकारितालाई प्रविधिसँग अझ सशक्त बनाउन सरकार सधैं सकारात्मक रहेको पनि उल्लेख गरे