चितवनको भारतीय सीमा क्षेत्रमा सशस्त्रका तीन बीओपी थप गरिने
चितवन,भदौ १६ । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिने भएको छ ।
सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा बीओपी थप गर्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको बताए ।
अहिले चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बीओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको भट्टराईले बताए ।
एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम शुरु गरिएको उनले जानकारी दिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ ।