कालो बजारीमा संलग्न ब्यापारीलाई सरकारले गर्यो सम्मान
काठमाण्डौ,असोज ७ । कोरोनाको महामारीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालका पिता शंकर अग्रवाललाई सरकारले सम्मान गरेको छ । शंकर अग्रवालका जेठा छोरा तथा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका थिए । जगदम्बा स्टिल्सका सञ्चालकसमेत रहेका अग्रवाललाई कालोबजारी गरेको आरोपमा प्रहरीले स्टिङ अपरेसन गरेर पक्राउ गरेको थियो । ६७ थान थर्मलगतसहित प्रहरीले पक्राउ गरेको थियो ।
तीन हजार पर्ने थर्मलगन १५ हजार रुपियाँमा बेचेको आरोपमा सुलभ अग्रवालमाथि मुद्दा चलाएको थियो । उनी किर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत रहेका थिए । पक्राउ परेका अग्रवाल निकै ठूलो शक्ति र पैसाको प्रयोग गरेर अदालतबाट धरौटीमा रिहा भएका थिए । अग्रवालमाथि अहिले पनि जिल्ला अदालतमा मुद्दा विचाराधीन छ भने सम्पत्ति शुद्धीकरण विभागले समेत शंकर गु्रपका विभिन्न कम्पनीहरूलाई अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धान गरिरहेको छ ।
शंकर अग्रवालको कम्पनीलाई पनि सरकारी निकायले केही समय अघि कारवाही गरेको थियो । शंकर ग्रुपकै जगदम्बा स्टिल गुणस्तरहीन भएको भन्दै सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । सरकारले नै कारबाहीको दायरामा ल्याएका तिनै शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नै तक्मा दिएको छ ।
नेपाल समाचारपत्रमा यसबारे समाचार यसरी लेखिएको छ, प्रत्येक वर्ष गृह मन्त्रालयले गणतन्त्र दिवसको दिन घोषणा गर्ने मानपदवी, अलंकार तथा पदकजस्ता बहुमूल्य तक्मा (विभूषण) मापदण्डका आधारमा भन्दा पनि पहुँच, सोर्सफोर्सवाला, पार्टीनिकट र उच्च शक्तिधारीले मात्रै पाउने गरेका छन् ।यस वर्षको संविधान दिवसका अवसरमा विवादित व्यवसायी शंकर ग्रुपका शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित गरिएको छ । तस्वीर नेपाल समाचारपत्र