नेपाल र मोरिसस बिच आज हुने खेलमा कस्ले मार्ला बाजी
काठमाण्डौं,माघ १५ । नेपाल र मोरिसस बीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।
यस्तै प्रशिक्षक किरण श्रेष्ठले नेपाल र मोरिसस उस्तै स्तरको टिम रहेको र यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गरिने बताएका छन् ।
प्रशिक्षक किरण श्रेष्ठले एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरुप यो खेल रहेकाले धेरै खेलाडीलाई अवसर दिन लागेको बताए ।
मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताए । ‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । यसका लागि डिसेम्बरदेखि यता हामीले ४५ दिन मात्र प्रशिक्षण गरेका छौँ । नेपाल विरुद्ध खेल्न सहज छैन ।’
यस्तै मोरिससका कप्तान केभिन ओब्रायनले नेपाल राम्रो टिम रहेको र राम्रो खेलको अपेक्षा राखेको बताए ।
यस्तै नेपाल र मोरिससबीचको खेलमा दशरथ रंगशालको कूल क्षमताको एक तिहाइ दर्शकलाई नेपाल सरकारको कोभिड–१९ प्रोटोकल अनुसार प्रवेश अनुमति दिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्दै एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने जनाएको छ ।