एमसीसीअमेरिकाले जबरजस्ती दिएको होईन, नेपालले मागेको हो ।’ – डा.रामशरण महत (पुर्व अर्थमन्त्री)
नेपाली काँग्रेसका नेता तथा पुर्व अर्थमन्त्री डा रामशरण महतले एमसीसी जसरी भए पनि पास हुनुपर्ने मा जोड दिनु भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्ने भन्नु भएको छ । एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको टिप्पणी छ ।
उनले भने,‘एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो । उहाँहरु पनि संलग्न हुनुहुन्थ्यो । त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस भन्ने मेरो ईच्छा हो । एमाले पनि एमसीसीको पक्षमा नै छ ।’
उनले कांग्रेसले एमालेसँग गठबन्धन गर्नेबारे कुनै निर्णय नगरेको पनि सुनाए । उनले थपे,‘एमाले एमसीसीको पक्षमा छ। देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानुहुँदैन् । एमसीसी निजी स्वार्थको लागि होईन, कांग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो। एमसीसीबारे भएका आलोचना गलत छन् ।’
उनले कम आए भएका मुलुकहरुलाई सहयोग गर्नको लागि अमेरिकाले यो एमसीसी स्थापना गरेको स्पष्ट पारे । उनले भने,‘यो अनुदान चाहिन्छ भनेर नेपालले नै माग गरेको हो । सन् २००४ मा एमसीसी पास भएको हो । विश्वभरिका कम आय भएकाहरुले यसको लागि निवेदन गरे । नेपालले पनि निवेदन गरेको थियो । विगतका सबै सरकारले, कांग्रेस, एमाले, माओवादी केन्द्रले अमेरिकासँग एमसीसी सहयोगको लागि आग्रह गरेको हो ।
यो त नेपालले छानेको परियोजना हो । पूर्वाधारको कमजोरी पूरा गर्नको लागि आयोजना तयार पारेको हो । सडक स्तरोन्नती र उर्जा विकासको लागि यो सम्झौताबाट प्राप्त हुने रकम खर्च हुन्छ । ३१२ किलोमिटर लामो चार सय केभीको शक्तिशाली ट्रान्समिन लाईन निर्माण गर्ने भनिएको छ, यो सन् २०१७ मा सम्झौता भएको हो । यसले नेपालको आर्थिक विकासको लागि योगदान पुर्याउने छ । पाँच वर्षभित्रै आयोजना सम्पन्न हुनुपर्छ । आयोजना सम्पन्न हुनेबित्तिकै पूर्वाधारको सुधार हुन्छ। लगानीको वृद्धि हुन्छ। आयआयर्जनको अवसर वृद्धि हुन्छ । गरिबी निवारण हुन्छ। यो नेपालको विकासको लागि अन्यत्नै उपयोगी छ । त्यसकारण यसलाई कार्यान्वयन गर्नुपर्छ ।’
एमसीसी दुईदेशबीच भएकोले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले विश्वास दिलाए । उनले भने,‘यो संसद्ले पनि अनुमोदन गर्ने भनिएको छ, सम्झौता हुँदा यो सन् २०१९ भित्रै संसद्ले अनुमोदन गर्छौं भनेर नेपालले भनेको थियो । यो सम्झौता देशको हितको लागि हो । अमेरिकाले जबरजस्ती दिएको होईन, नेपालले मागेको हो ।’
महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको सुनाए । उनले भने,‘नेपालमा जस्तै एमसीसी सम्झौता धेरै देशसँग भैसकेका छन्। संसद्ले पारित गर्ने सिलसिलामा नेपालमा केही विरोध हुन थाल्यो । नेकपाको सरकारले सदनबाट पारित गर्न खोजेको थियो । तर, त्यतिवेला एक पक्षले विरोध गरेको थियो । अहिलेसम्म पारित भएको छैन् । चार/पाँच महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डजी दुवैले हस्ताक्षर गरेर पारित गर्नको लागि चार/महिनाको समय माग्नुभएको रहेछ । उहाँहरुले पारित गर्नको लागि यस्तो पत्र लेख्नुभएको थियो । अहिले अमेरिकाले फागुन १६ गतेसम्म पारित गर्नुपर्छ भनेको छ । र, फागुन १६ गतेसम्म पारित नभएको खण्डमा फिर्ता लैजान्छौं भन्ने अमेरिकाबाट खबर आएको छ ।’