मेयर कप भेट्रान फुटबल हुने
ललितपुर,पुष १० गते । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २२ टिमले सहभागिता निश्चित गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ को संख्यामा टिम सहभागी हुने आयोजकको अपेक्षा छ ।
सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको छ । काठमाडौं बाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क लाग्ने छैन । एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ ।
विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ । आयोजक वडाले ५ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिइयो । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जावलाखेल मैदानमा खेलाइने छ । गत संस्करणको उपाधि कुपण्डोलले जितेको थियो ।