कुनै पनि अवस्थामा आत्महत्या समस्याको समाधान होइन – रमेश ढकाल (बिचार )

रमेश ढकाल –  केही हप्ता पहिला हाम्रो गृह नगर झापाको भद्रपुरसंग जोडीएको कचनकवल गाउँपालिका– ५ मा सोही ठाउँका चिया बगानमा मजदुरी गर्ने तीनजना १६–१७ उमेरका किशोरीहरु एकैसाथ बयरको रुखमा झुन्डिएको अवस्थामा मृत भेट्टिएको घटनाका बारेमा आएका समाचार तथा फोटोहरुले मेरो मस्तिस्कमा जुन स्मृति बनायो त्यो अझैसम्म पनि हट्न सकेको छैन ।

यो घटना आत्महत्या नै थियो या अरुकेही भन्ने बिषयमा अनुसन्धान अझै जरिनै रहेको बुझेको छु । यद्यपि, समाचारमा आएको नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार आत्महत्याबाट ज्यान गुमाउनेको संख्या भने हाम्रो देशमा ३१ हजार २ सय २१ रहेछ । यो तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा दैनिक १७ जनाभन्दा बढीले आत्महत्या गरेर आफ्नो जीवन समाप्त पारेका रहेछन् ।

यो तथ्यांक आफैमा एउटा कहालीलाग्दो तथ्यांक हो । र यसको न्युनिकरणमा व्यक्तिगत रूपमा कसरी सचेतना फैलाउन सकिन्छ होला भनेर केही खोज अध्ययन गर्दै गर्दा यसै सन्दर्भमा पूर्व इन्जिनियर गुरु गौर गोपाल दासजीले तयार पार्नु भएको एउटा सामाग्री युट्युबमा हेर्ने मौका मिल्यो । मैले त्यही सामाग्रीलाई आधार बनाएर यो लेख मार्फत केही महत्वपूर्ण उपयोगी जानकारीहरु शेयर गर्ने प्रयास गरेको छु ।

उल्लेखित सन्दर्भमा हामी सबैले बुझ्नु वा बुझाउनु पर्ने एउटा महत्वपूर्ण कुरा के हो भने यो संसारका हरेक व्यक्ति – विवाहित वा अविवाहित, जोगी वा भोगी, महिला वा पुरुष, नेपाली वा अमेरिकी, हिन्दु वा मुस्लिम, क्रिस्चियन वा पारसी, जैन वा बौद्ध, नास्तिक वा आस्तिक, ज्ञानी वा अज्ञानी, जोसुकै होस् सबैको जीवनमा कुनै न कुनै समस्या त हुन्छ, हुन्छ । समस्या नभएको कोही पनि हुँदैन । यो संसारमा समस्या नभएका वा समस्याको सामना नगर्ने कोहिपनी छैनन् । समस्या रहित जीवन जिउन खोज्नु भनेको, पोखरीमा डुबुल्की मारेर पनि ओभानै बस्न खोज्नु जस्तै हो । जसरी पोखरीमा पसे पछि ओभानु रहन सकिदैन, त्यस्तैगरी यो संसारमा आएपछि बिना समस्या जीवन बिताउन सकिदैन भन्ने कुरालाई तपाईं हामी सबैले बुझ्न वा बुझाउन आवश्यक हुन्छ ।

समस्याको अनुभुती फरक हुन सक्छ । समस्याको आकार, परीणाम फरक हुन सक्छ । तर समस्याहरू हाम्रो जीवनका अभिन्न अंग हुन् । जसरी ईसीजी गर्दा एउटा सानो धर्सा तल माथि गरेर मान्छे जीवित रहेको संकेत गर्छ, त्यसै गरेर हाम्रो जीवन रहुन्जेल जीवनमा उतारचढावहरु आइरहन्छन् । जीवनमा आउने उतारचढावहरुले हामी जीवित नै छौ भन्ने कुराको संकेत गर्छ । हाम्रो जीवनमा आउने उतारचढावहरु त्यतिखेर मात्र रोकिन्छन्, जब हाम्रो सास रोकिन्छ ।

बालक, विद्यार्थी, किशोर–किशोरी, युवा–युवती, ब्रिद्ध, ब्यापारी सबैको जीवनमा समस्या हुन्छ । राम्रो क्याम्पस तथा विश्वविद्यालयमा एड्मिसन पाउनका लागि विद्यार्थीहरूलाई शैक्षिक दबाबको सामना गर्ने सन्दर्भमा समस्या हुन्छ । परिक्षाको तयारी गर्ने सन्दर्भमा समस्या हुन्छ । डिग्री हासिल गरिसके पछि पनि अधिकांस भाइबहिनीहरुलाई राम्रो जागिर पाउनका लागि वा कुनै नयाँ स्टार्टअपका लागि अवसरहरुको खोजिमा समस्या हुन्छ । जागिर या व्यवसाय सुरुगरिसके पछि पनि त्यसमा सफल बन्नका लागि वा राम्रो गरेर देखाउनका लागि अनेकौँ दबाब तथा चुनौतीहरुको सामना गर्ने सन्दर्भमा समस्या हुन्छ ।

कर्मचारीलाई कार्यसम्पादनको दबाब हुन्छ भने व्यवसायीलाई आर्थिक दायित्वको दबाब हुन्छ । ठुला ठुला व्यवसायी वा धनी धनी व्यक्तिहरू पनि धेरै ऋण भएका कारण ठूलो दबाब झेलिरहेका हुन्छन् । उमेर हुँदै गए पछि स्वास्थ्यको समस्या सुरु हुन्छ । कोही अवसर नपाएका कारण समस्यामा हुन्छन् त कोही अवसर पाएर पनि समस्यामा हुन्छन् ।

अझ महत्त्वपूर्ण कुरा, शैक्षिक, व्यावसायिक, शारीरिक स्वास्थ्य लगायतका कुराहरुले सिर्जना गर्ने चुनौती भन्दा पनि धेरै ठुलो चुनौती वा समस्या त्यतिखेर सिर्जना हुन्छ जब हामी मानसिक वा भावनात्मक रुपमा असन्तुलित बन्न पुग्छौँ । यस्तो त्यतिबेला हुन्छ जब हाम्रा आपसी सम्बन्धहरुमा समस्याहरु आउन सुरुहुन्छ । कही ठोक्किएर टाउको दुखेमामा हामी त्यसलाई निको पार्न सक्छौ तर भावनात्मक रुपले दुखेको टाउकोलाई कसरी निको पार्ने ?

हिजोआजका सम्बन्धहरु फेम्ली र फ्रेण्ड्लीमा मात्र सिमित नरहेर लिभिङ, ननलिभिङ, फोर्मल, इन्फर्मल के के हो के के ! यस्ता सम्बन्धहरुमा जब मनिसहरु एक अर्काका अपेक्षाहरु पूरा गर्न सक्दैन । जब सम्बन्धहरु सहज नभएर बाध्यता बन्छन्, त्यहाँ धोका, फरेब, निरासा लगायतका कुराहरुको जन्म हुने गर्दछ ।

शैक्षिक समस्या, व्यावसायिक समस्या, स्वास्थ्य समस्या, भावनात्मक समस्या, पारिवारिक सम्बन्धमा समस्या, साथी, सहकर्मी, दाजुभाइ, दिदीबहिनी, आमाबुवा, पति पत्नी, प्रेमी प्रेमिका …..। समस्या कहाँ छैन वा समस्या रहित को चाहिँ होला ?

यसो भनेर हामी समस्या नै समस्याले भरिएको संसार बाँचिरहेका छौं भनेर चित्रण गर्न खोजेको भने कतै हैन । तर , चाहेर होस् वा नचाहेर हामी वास्तवमा नै धेरै समस्याहरूले घेरिएका छौँ भन्ने सत्यलाई तपाईं हामी कसैले पनि नकार्न भने सक्दैनौँ । यसो भनिरहदा, हाम्रो जीवनमा आउने हरेक समस्याले समाधान पनि संगै लिएर आएको हुन्छ भन्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन । आर्थत थोरै ढिलो चाँडो मात्र हो तर हरेक समस्याको समाधान हुन्छ अथवा भएरै छाड्छ । यो संसारमा केहि पनि स्थायी छैन । त्यो चाहे समस्या होस् या सुख ।

खैर, यहाँ चर्चा गर्न खोजिएको मुख्य विषय के हो भने कहिलेकाहीँ हाम्रो जीवनमा आउने समस्याहरूले हामीलाई असहाय तथा एक्लो महसुस गराउछ, र कुनै अवस्थामा त्यो गएर निराशामा परिणत हुन्छ । जब त्यो निराशामा परिणत हुन्छ, तब हामी आशाको किरण देख्न छोड्दछौँ । जताततै अन्धकार मात्र देखिन थाल्दछ । जसले हामी भित्र एउटा ठूलो भावनात्मक दबाबको सिर्जना गदर्छ । जसका कारण दुःखद घटनाहरु घट्ने गर्दछन् । यस्तो अवस्थामा हामीलाई केही कुराले वास्तवमै फरक पार्न सक्छ भने त्यो हो हामी भित्रको जीवनमा आइपरेका चुनौतिहरुलाई सामना गर्ने संयन्त्र÷शक्ति अर्थात हाम्रो मानसिक स्वास्थ्य ।

मानसिक स्वास्थ्य

यो विशेष सन्दर्भमा, मानसिक स्वास्थ्य भनेको जीवनमा आइपर्ने समस्याहरुलाई सामना गर्ने हामी भित्रको आन्तरिक संयन्त्र÷शक्ति जसका कारण जीवनमा आइपरेका हरेक चुनौतीहरूलाई हामी सहजरुपमा सामना गर्न सक्छौँ अर्थात चुनौतिहरुसंग लड्न भिड्न सक्छौँ । चुनौतिहरुका बिरुद्धमा दृढतापूर्वक उभिन सक्छौँ र हाम्रो जीवनको यात्रामा लगातार अगाडि बड्न सक्छौँ । तर यसो हुँदाहुँदै पनि कहिलेकाहीँ मनिसहरुको जीवनमा निराशा यति धेरै तल्लो तहमा पुग्छ कि उनिहरुभित्रको सामना गर्ने शक्तिले काम गर्न नै छोड्दछ । यस्तो अवस्थामा मानिसहरू आफ्नो जीवन नै समाप्त पार्ने निर्णय लिन पुग्दछन् ।

उनिहरु विद्यार्थी, ब्यापारी, खेलाडी, कलाकार, कर्मचारी, मजदुर, प्रेमी–प्रेमिका वा अन्य कुनै आममान्छे – जो पनि हुनसक्छन् । यस्ता व्यक्तिहरुलाई समयमै सहयोग गर्न सकियो, आशाको किरण देखाउन सकियो, उनिहरु भित्र जिन्दगीका समस्याहरुसंग लड्ने, भिड्ने, सामना गर्ने शक्तिलाई बढाउन सकियो भने, आत्महत्या जस्ता घटनाहरु घट्न बाट जोगिन वा जोगाउन सकिन्छ ।

जब हामी मानसिक स्वास्थ्यको बारेमा कुरा गर्छौं, यो आत्महत्या संग मात्र जोडीएको हुन्छ भन्ने पनि होइन । तर जब कुनै मान्छे निराशाको अत्यन्तै तल्लो तहमा पुग्छ, त्यस्तो अवस्थामा उसले सम्भवतः आत्महत्यालाई नै आफ्नो अन्तिम अस्त्र वा उपायको रुपमा अपनाउने गर्दछ । त्यसैले यस्तो दुःखद निर्णय लिनु पर्ने अवस्था बाट बच्न वा बचाउनका लागि हामीले हाम्रो आन्तरिक शक्तिलाई सधैं बलियो बनाएर राख्न सक्नु पर्छ, ताकि त्यस्ता समस्या, चुनौतीहरूले हामीलाई कमजोर पार्न नसकुन् । जस्तोसुकै परिस्थितिमा पनि हामी बलियो र स्थिर भएर उभिन सकियोस् ।

आत्महत्या गर्ने स्थिति

यस्तो स्थिति सिर्जना हुनुको एउटा मुख्य कारण भनेको मानसिक कमजोरिनै हो । हामी आफुले सामना गरिरहनु परेका चुनौतीहरूका बारेमा आफ्नो दिल खोलेर कसैसंग पनि कुरा गर्दैनौँ ÷ बोल्दैनौँ । आफ्नो जीवनमा आइपरेका समस्या, चुनौती, निराशाहरुलाई आफ्नो मनभित्र लुकाएर, गाँठो पारेर लगातार एक्लै हिडिराख्ने गर्दछौँ ।

यसरी मनभित्र पीडा लुकाएर लगातार एक्लै हिडिराख्नाले हामी एक्लो, असहाय मात्रै होइन, पूर्णत निरास बन्नेछौं । निराशाको यो चरणमा पनि यदि हामी बोलेनौँ, आफ्नो मनको पीडा खोलेनौँ भने यसले हामीलाई सधैंका लागि निराशाको बाटो तर्फ धकेल्ने छ । र यदि यो अवस्थामा पनि हामी चुप रहयौँ, बोल्न सकेनौँ, मनको पीडा पोख्न सकेनौँ भन्ने हामी निराशाको अन्तिम चराणमा पुग्ने छौँ । यो अवस्थामा हामी जस्तोसुकै गलत निर्णय पनि लिन सक्छौँ । यहाँ सम्म कि हामी हाम्रो जीवन नै पनि समाप्त पार्न सक्छौं । यही अवस्थामा हो, मानिसले आफुलाई जलाउन सक्छ, फाँसीमा झुन्ड्याउन सक्छ, घरको छतबाट हाम फाल्न सक्छ, विष सेवन गर्न सक्छ अथवा यस्ता उपाय अपनाएर आफ्नो जिन्दगी खतम पार्ने मात्र हैन अरुको जिन्दगी पनि लिन सक्छ ।

मजबुत मानसिक स्थिति

मजबुत मानसिक स्थितिको मतलब जीवनमा आइपर्ने जस्तासुकै समस्या चुनौतीहरुका अगाडि पनि आफुलाई विचलित, निरास नबनाइकन दह्रो संग उभ्याइ राख्ने हामी भित्रको सामर्थ्य अथवा शक्ति । यो शक्तिलाई सधैं बरकरार राख्न थुप्रै उपायहरु छन् ती मध्ये सबैभन्दा महत्त्वपूर्ण उपाय हो आफुलाई सधैं सजक, सचेत र सक्रिय राख्नु । खास गरेर आफ्ना सम्बन्धहरुलाई लिएर । यसमा एउटा मुख्य समस्या के हो भने हामी दिल खोलेर बोल्दैनौँ । प्रायः गरेर हामी आफ्नो जीवनमा आइपरेका समस्या, चुनौती, निराशाहरुलाई आफ्नो मन भित्र लुकाएर, गाँठो पारेर लगातार एक्लै हिडिराख्ने गर्दछौँ ।

आफ्नो मानसिक स्थितिलाई मजबुत राख्न हामीले मन भित्र लुकाएर उकुसमुकुस पारेर राखेका डर, चिन्ता, निराशा लगायतका नकारात्मक सोचहरुलाई भेन्टिलेशन याने निकास प्रदान गर्न आवश्यक हुन्छ । यसो गर्नका लागि हामीले खुलेर बोल्न सक्नु पर्छ । त्यसैले मानसिक स्थितिलाई मजबुत राख्न लागि सबैभन्दा ठूलो सोर्स हाम्रो कुनै नजिकको साथी हुन सक्छ । जोसंग आफ्नो दिल खोलेर बोल्न सकियोस्, हास्न सकियोस्, रुन सकियोस्, मनका सबै भावना पोखेर हल्का हुन सकियोस् । त्यो केटा साथी, केटी साथी, पति, पत्नी, आमाबाबु, दाजुभाइ, सहकर्मी, जो पनि हुन सक्छ ।

दिलखोलेर बोल्नाले, हास्नाले, रुनाले, मनका सबै भावना पोख्नाले हामी भित्र जमेर बसेको निराशा, पीडा घटेर जानेछ । आफ्नो नजिकको साथी संग केवल खुलेर बोल्नाले, हास्नाले हामी हल्का भएको महसुस गर्न सक्छौँ । त्यसैले कोही चाहिन्छ, जोसँग हामी खुल्न सकौ, बोल्न सकौ, हास्न सकौ, रुन सकौ, मनका व्याथा पोख्न सकौ । यसो गर्नाले जीवनमा आइपरेका चुनौतीहरुसंग लड्ने भिड्ने सामान गर्ने हाम्रो शक्तिलाई बढाउने छ । हामी बलियो बनेर उभिन सक्ने छौँ । यस प्रक्रियामा हामीले कोही नजिकको साथी खोज्ने मात्र हैन, आफु स्वयम् पनि कसैको नजिकको साथी बन्न सक्छौँ । ताकि ऊ हामी संग खुलेर बोल्न सकोस्, हास्न सकोस्, रुन सकोस्, मन भित्रको व्याथा पोख्न सकोस् ।

आत्महत्याको न्युनिकरण

आत्महत्याको न्युनिकरणमा सबै भन्दा महत्वपूर्ण कुरा के हो भने, हामीले दैनिक रुपमा भेट्ने अधिकांश मान्छेहरु आ–आफ्नो जिन्दगीको कुनै न कुनै कठिन लडाईं लडिरहेका हुन सक्छन्, जसका बारेमा हामीलाई वास्तविक ज्ञान नहुन पनि सक्छ भन्ने कुरालाई तपाईं हामी कसैले पनि कहिल्यै नजरअन्दाज गर्नु हुँदैन । त्यसैले हरेक मान्छे, त्यसमा पनि अझ भावनात्मक÷मानसिक रुपमा दुखी बनेका वा एक्लोपनका सिकार बनेका सबैसंग हामीले उदार भाव राख्नु पर्छ । अत्यन्तै सरल स्वभावका साथ प्रस्तुत हुनु पर्छ । (कति अवस्थामा यो त ठिस् भएछ, यो त साइको हो, यसको त खुस्कियो जस्ता लेबल लगाएर हामी पीडित मान्छेहरुलाई अझ धेरै निराश र धराशायी बनाउने गर्दछौँ, यस्तो भने झुक्किएर पनि गर्नु हुँदैन ।) हामी स्नेही बन्नु पर्छ । सहयोगी बन्नु पर्छ । पीडित व्यक्तिलाई तिम्रो लागि म छु नि भन्ने कुराको आभास गराउन सक्नु पर्छ । ताकि मनिसहरुलाई हामीसंग आफ्नो मनको कुरा खुलेर बोल्न, हास्न, रुन, मनको वह पोख्न सहज होस् । त्यसैले, आत्महत्या लगायतका दुःखद घटनाहरुबाट जोगिन वा जोगाउनका लागि हाम्रा सम्बन्धहरुलाई सुमधुर राख्नुको अर्को विकल्प छैन । असल साथी बन्नु वा बनाउनुको विकल्प छैन । मनको कुरा खुलेर बोल्नुको विकल्प छैन ।

यसको अलावा जब हामी एक्लो, निराश, आशाहीन महसुस गर्छौं, यस्तो अवस्थामा यदि हामीले आफ्नो मन खोलेर बोल्ने, हास्ने, रुने, आफ्नो मन भित्रका पीडा व्यथा सुनाउने कुनै साथी सम्बन्धी पाएनौँ वा कुनै कारणले अन्य व्यक्ति संग आफ्नो मनको कुरा खोल्न सकेनौँ भने, यस्तो अवस्थामा हामी कुनै प्रशिक्षित विशेषज्ञ, मनोचिकित्सकलाई पनि भेट्न सक्छौ । उनिहरुको सल्लाह सुझाव लिन सक्छौँ । उनिहरुले हाम्रो जीवनमा आइपरेका समस्या चुनौतीहरुसंग कसरी सहजै लड्न, भिड्न सामना गर्न सकिन्छ भनेर हामीलाई नयाँ बाटो, नयाँ आशा, नयाँ सम्भावना देख्न वा देखाउन सहयोग गर्ने छन् ।

यसो गर्न पनि सम्भव भएन भने अर्थात कुनै पनि सोर्सबाट मद्दत पाउन वा लिने अवस्था रहेन भने हामी आँफैले पनि आफ्नो मद्दत गर्न अग्रसर हुनु पर्छ । यसका लागि विभिन्न प्रेरक पुस्तकहरू पढ्न सक्छौँ । अनलाइन वा युट्युबमा उपलब्ध विभिन्न प्रेरक भिडियोहरू हेर्न÷सुन्न सक्छौँ जसले हामीलाई नयाँ उर्जा, नयाँ सोच, नयाँ आशा, नयाँ बाटो देख्न वा देखाउन धेरै मद्दत पुर्याउन सक्छन् । व्यक्तिगत रूपमा भन्नु पर्दा आफूलाई सधैँ उत्प्रेरित राख्न मैले भने युट्युबमा जीवन विज्ञान, गौर गोपाल दास, सन्दीप महेश्वरी, बिके शिवानी, जय किशोरी लगायतका प्रेरक भिडियोहरु हेर्ने गरेको छु । यहाँहरु पनि यस्तै या आफुलाई मनपर्ने अरुकसैका प्रेरक भिडियोहरु हर्न सक्नु हुनेछ ।

यसको अतिरिक्त, हामी आध्यात्मिक अभ्यास, ध्यान गर्ने लगायतका विधिहरु पनि अप्नाउन सक्छौँ । यसो गर्नाले, हाम्रो मन, हाम्रा विचारहरु शुद्ध हुनेछन् । हामी भित्रका नकारात्मकताहरु हटेर जानेछन् । हामी भित्र नयाँ शक्तिको संचार हुनेछ । हाम्रो जीवनमा आशाको किरण झल्कने छ । यसले हामीलाई हाम्रो जीवनमा आइपरेका विभिन्न समस्या, चुनौतीहरु संग लड्ने, भिड्ने, सामना गर्ने एउटा दृढ शक्ति प्रदान गर्ने छ । हामी पुन बलियो बनेर उभिन सक्ने छौँ । र मनुष्यका रुपमा प्राप्त यो हाम्रो अमुल्य जीवन पुनः हामीलाई सार्थक र सुखी लाग्न थाल्ने छ । लेखक रमेश ढकाल हाल दोहा कतारमा कार्यरत हुनु हुन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv