भाइटीकासँगै खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर
काठमाण्डौं,कार्तिक १० । काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानै खुलेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बिहान ५ बजेबाट मन्दिर खुलेको छ । उनका अनुसार मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ ।
भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् । दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई बालगोपालेश्वर मन्दिरमा गएर पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।
यो पनि : भाइटीकामा कस्तो छ मौसम ? आज तिहारको पाँचौ दिन भाइटीका । मौसमले पनि साथ दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।