स्वस्तिका र शिभालीको जोडी च्याम्पियन
काठमाडौं, पुस १ गते । नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सिंगल्समा भारतका भिभान मिर्धा पहिलो भए । फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५–७, ७–६ (३) र ६–२ को सेटमा हराए ।
ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६–० र ६–४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाइज डबल्सको फाइनल शनिबार हुनेछ । शनिबारै गल्र्स सिंगल्सको फाइनल पनि हुनेछ । गल्र्स सिंगल्सको उपाधिका लागि नेपालका शिभाली गुरुङ र नेपालका आद्या पौडेल भिड्ने छन् ।