निर्वाचन समितिको संयोजकमा राई
काठमाडौं, पुस २९ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय महाधिवेशनका लागि राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईको संयोजत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् । उनीहरुलाई कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले शुक्रबार पत्र हस्तान्तरण गरे ।
संघको केन्द्रीय महाधिवेश फागुन ४ देखि ५ गतेसम्म नेपालगन्जमा हुँदैछ । उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।
हाप्किडोको अन्तराष्ट्रिय सेमिनार
फेब्रुअरी ४ र ५ मा काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ । नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि विचको दुइ वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो ।
ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज, मेक्सिकन हाप्किडो फेडेरेसनका अध्यक्ष ग्रान्डमास्टर एड्रियन गेरार्डो गार्सिया टोरेस, रसियन हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर डेमिड मोमोट र हाप्किडो सिनियर मास्टर तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायतले सो सेमिनारमा प्रशिक्षण दिने छन् ।
अध्यक्ष मगरले कार्यक्रमले हाप्किडा खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको बताउदै प्राविधिक जनशक्ति उत्पादन र ती जनशक्ति मार्फत नेपालको ग्रामिण क्षेत्रमा हाप्किडो खेललाई फैलाउने लक्ष्य रहेको बताए । साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बढाउन पनि यो सेमिनार सफल हुने अपेक्षा गरिएको नेपाल हाप्किडो संघको उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङले बताइन् ।
सुनिल र आरिशको जोडीलाई स्वर्ण
चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् ।
उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए ।
यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको प्रतिस्पर्धामा वडा नम्वर १६ ले १ स्वर्ण, एक रजत र ४ काश्य जित्दै टिम च्याम्पियन बन्ने बाटोमा अगाडि रहेको छ । वडा १९, १२ र ३ ले एक, एक स्वर्ण जितेका छन् ।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताअन्तर्गत भएको ६० वर्ष माथी उमेर समूहमा वडा नम्वर १९ का भेट्रान खेलाडी जगदिश्वरप्रसाद जोशीले वडा १६ का आनन्द धाख्वालाई ३–१ को सेटमा पराजित गरी स्वर्ण पदक जिते ।
सो इभेन्ट्समा वडा नम्वर ११ का सानुभक्त श्रेष्ठ र वडा ११ कै शरदमान श्रेष्ठले काश्य पदक प्राप्त गरेका थिए ।
फ्लडलाइटको प्रकाशमा राती सञ्चालन हुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हुंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ ।
१३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडीदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।
निरज र विशाखा रग्बी वर्ष खेलाडी
नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ । संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए । गोपाल क्षेत्रीलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो ।
सोही अवसरमा नागरिक दैनिकका खेल पत्रकार अनिल मल्ल ठकुरी पनि सम्मानित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे ।