फागुन २३ मा पल्सर स्पोर्टस अवार्ड २०७८ थपियो एउटा मोटरसाइकल

काठमाडौं, माघ १० गते । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुँदै आएको पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ ।

सोमबार मञ्चले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पल्सर स्पोर्टस अवार्ड २०७८ आगामी फागनु २३ गते हुने घोषणा गरेको हो । वि.सं. २०६० सालदेखि हुँदै आएको अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ । २०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्फत सम्मान गरिनेछ । सोमबार नै एनएसजेएफ स्पोर्ट्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको छ । मञ्चको उक्त कम्पनीसँग १४ औं वर्षको सहकार्य हो ।

सम्झौतामा मञ्चका तर्पmबाट अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पु¥याएका खेलकर्मीको सम्मानमा जोडिँदै आएको बताए । यसपटक पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा कुल ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

यसअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्टलाई अवार्ड रहेका छन् । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र आगामी हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव ओलीले बताए । यसका लागि मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ ।
मञ्चका अध्यक्ष सुबेदीले अर्थतन्त्र नै शिथिल अवस्थामा रहेको समय हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको सहकार्य निरन्तरता हुनु समग्र खेलकर्मीकै लागि सुखद पक्ष रहेको बताए ।

मञ्चका पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले यो अवार्ड समग्र नेपाली खेलकर्मीलाई नै एकै ठाँउमा उभ्याउने माध्यम बनिरहेको बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv