स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको सम्झनामा साँगीतिक कार्यक्रम सम्पन्न
पोखरा,माघ २४ । स्वर साम्राज्ञी अरुणा लामा तथा तारादेवी स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर पोखरामा ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
हार्मोनी तथा एभरेस्ट एफएम ९३ द्वारा संयुक्त रुपमा पोखराको कुटी–२ रिसोर्टमा स्मृति साँझ कार्याक्रम आयोजना गरिएको हो । स्मृति साँझ कार्यक्रममा एक दर्जन पोखरेली कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीतहरु प्रस्तुत गरेर उनीहरुलाई श्रद्धा व्यक्त गरेका हुन् ।
कार्यक्रममा रजनी ऋदम राईले ‘यो मन त तलाउ हो ढुंगा नफ्याँक’ गाउँदै सांगीतिक कार्यक्रमको थालनी भएको थियो । कार्यक्रममा उषा गुरुङले ‘कालीपारे दाई कति राम्रो ढाकाटोपी काँधैमा गलबन्दी’ गीत गाएर तारादेवीप्रति श्रद्धा अर्पण गरिन् । पोखरेली दम्पती कलाकार रामभक्त जोजिजु र ईतु जोजिजुले स्वरसम्राट नारायण गोपाल र अरुणा लामाले गाएको ‘जीवनका हरेक मोडहरुमा तिमीले मलाई भेट’ गाए भने शितल थापाले ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा’ गाइन् ।
लक्ष्मी गिरीले घाममा पनि माया लागेको छ गाइन् भने देवीमाया गुरुङ र मीलन गुरुङले ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो गाए । कार्यक्रममा अजुदा थापाले तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथेँ गाइन् भने ईतु जोजिजुले पोहोर साल खुशी फाट्दा गाएर समारोहलाई गम्भीर बनाइन् ।
कार्यक्रममा प्रिया गुरुङले सबैले भन्थे, पिङ्गला भट्टले फूललाई सोंधे कहाँ गयो कता गयो, कौशल्या गुरुङ र मीलन गुरुङले ए कान्छा मलाई तारा खसाई देउन गीत गाएका थिए । गायक रामभक्तु जोजिजूले तारादेवीको उकाली ओरालीहरुमा गाएरदर्शकलाई फरक स्वाद चखाए भने सानु जोजिजुले भ्वायलिनको सुरमा यति धेरै माया दिई गीत प्रस्तुत गरे ।
कार्यक्रमको उत्तराद्र्धमा शीतल थापाले अरुणा लामाको भेटिनु छुटिनु त संसारकै रीत हो प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्मृति साँझको औचित्य र आवश्यक्ताका बारेमा एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले प्रष्ट्याएका थिए भने साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक प्रकाश सायमीले स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका अनटोल्ड स्टोरीको चर्चा गरेका थिए ।
आयोजक संस्थाले अरुणा लामा–तारादेवी स्मृति साँझ अब हरेक वर्ष आयोजना गरिने जनाएको छ ।( तस्बिर : प्रेम थापा )