अस्ताए सिन्धुपाल्चोकका कांग्रेस नेता लामा
काठमाण्डौं,असार ९ । नेपाली कांग्रेसका नेता सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ । ६३ वर्षीय लामाको उपचारको क्रममा वीर अस्पतालमा शुक्रबार राती निधन भएको हो ।
उनी क्यान्सर रोगबाट पीडित थिए । ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।
लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए।तर, पराजित भएका थिए । लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।
लामाको राजनीतिक यात्राः
वि.सं. २०१६ साल असोज २१ गते इन्द्रावती गाउँपालिका ९ भोटसिपा जन्मिएका लामाको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट शुरु भएको थियो। नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशनमा लामा सभापतिमा निर्वाचित भएका हुन्। २०७० सालको प्रतिनिधि सभाको निर्वाचन सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट कांग्रेसबाट उम्मेदवार बनेका उनी १४ औं महाधिवेशनमा केन्द्रिय सह महामन्त्रीका उम्मेदवार समेत हुन्। साथै गत स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिकाबाट अध्यक्षका प्रत्यासी समेत थिए।
लामाको कलाकारिता यात्राः
नेपाली आधुनिक गीत ‘स्वर्ग कि परी’ बाट गायन क्षेत्रमा डेब्यु गरेका लामा कलाकारितामा सोनाम लामाका नामले चर्चित थिए। ‘होइ साइली, माइली, ह्याङ निला, चु दु:ख डान्सी खाईरी ब्याङनिला’ र ‘आपाम बोर्जी, दैवसे’ जस्ता उनले गाएका गीत तामाङ समुदायमा अझै चर्चित छ। २०३७ सालमा रेडियो नेपालबाट आधुनिक गीतको स्वर परीक्षा उतीर्ण गरी नेपाली गीतसंगीत यात्रा थालेका उनले १५८ वटा गीत गाएका छन्। लामाले तामाङ फिल्म ‘डाङ’ पनि निर्माण गरेका छन्।
लामाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले जनाएको छ ।