एनएसजेएफको १८ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौं,असार १९ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १८ औं वार्षिक साधारणसभा तथा खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
काभ्रेको धुलिखेलमा आइतबारदेखि सुरु भएको दुईदिने कार्यक्रमको पहिलो दिन मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सिएमआर नेपाल एकेडेमीका डाइरेक्टर उज्ज्वल आचार्यले प्रशिक्षण दिए । उक्त प्रशिक्षणमा ६४ जना खेल पत्रकार सहभागी भएका थिए । मञ्चले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो । उक्त दुई दिने पत्रकारिता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटिएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो । सोमबार मञ्चको १८औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्की र पत्रकार महासंघका एसोसिएट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुलीलगायतले खेलकुद पत्रकारिताका विषयमा विचार राखेका थिए । उक्त साधारण सभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठको आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो ।
सोमबार उक्त साधारणसभा राखेपका सदस्यसचिव टंकलाल घिसिङले चालु आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विवरण प्रस्तुत गरेका थिए ।