आज प्रतिनिधि सभा र राष्ट्रियसभा को बैठक बस्दै
काठमाडौं,भदौ १३ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ ।
त्यस्तै सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डाँगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कांसकार रहनेछन् ।
साथै सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बैठक पनि आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०–८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।