टानमा भई रहेको राजनीतिक भागबण्डा चिर्न मेरो उमेदवारी हो : सागर पाण्डे (टान अध्यक्ष पद उमेदवार)
काठमाण्डौं,भदौ १३ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल टानको नयाँ कार्य समितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यही भदौ १७ गते चुनावका लागि आज मनोनयन दर्ता गरि पाण्डे समूहले पत्रकार सम्मेलन गर्दै आफ्ना एजेण्डाहरु सार्वजनिक गरेको हो ।
आगामी दुई वर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको अध्यक्षमा सागर पाण्डे सहित १७ जना उम्मेदवारहरुको प्यानल बनेको छ । पाण्डेसंग प्रतिस्पर्धा गर्न राजेन्द्र सापकोटा नेतृत्वको अर्काे प्यानल पनि चुनावी मैदानमा रहेको छ ।
पत्रकार सम्मेलनका क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफ्नो समूह जुझारु र व्यवसायीक रहेको बताएका छन् । आफूहरुले सार्वजनिक गरेको २२ बुँदे घोषणापत्र कसैले लेखि पठाएको वा घोकेर नआएको भन्दै ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा घोषणापत्र तयार पारेको बताए ।
पाण्डे समूहले घोषणा पत्रमा ट्रकिङ व्यवसायीहरुका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने उल्लेख छ । यस्तै, टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, कर सम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने पनि घोषणा पत्रमा जनाइएको छ ।
सागर पाण्डे समूहले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने पनि योजना बनाएको छ । नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डे प्यानलको घोषणा पत्रमा उल्लेख छ । यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने देखि पर्यटन बोर्डमा पर्यटन संघसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफू ३० वर्ष देखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको दावी गरे । उनले आफ्नो समूहका अन्य उम्मेदवारहरु पनि सोही प्रकारको व्यवसायमा दक्षता हासिल गरेका र अनुभवी रहेको बताएका छन् । पाण्डे समूहले आफूहरुलाई व्यवसायीक र समावेशी समूह भएको समेत दावी गरेको छ । उनले भने, ‘हाम्रो उम्मेद्वारी टानमा भइरहेको सिण्डीकेटको विरुद्धमा हो । हामी कुनै राजनीतिक दलको सम्झौतामा बाँधीएका छैनौं ।’ उनले भनेका छन्, ‘हाम्रो पार्टी भनेकै पर्यटन हो, हाम्रो पार्टी भनेकै टान हो ।’
’