मनाङमा दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
काठमाण्डौं,भदौ २३ । बायोकोष नेपाल र एन्ट फाउन्डेशनको सहयोगमा मनाङ्गमा दोस्रो पटक मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
प्रतियोगिता असोज ३ देखि ७ सम्म मनाङ्गको तिमाङ र मुङजी अवस्थित फुटबल मैदानमामा हुनेछ । उक्त मैत्रीपूर्ण खेलमा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ, अस्मिता रानपालसँगै विभिन्न सेलिब्रेटीहरुको सहभागी हुनेछन् ।
प्रतियोगितामा टिम हिमालयन स्नो लिवपर्ड, टिम कान्जिसारा याक र टिम मनाङ्ग ङिस्याङबीच प्रतिस्पर्धा हुनेछ ।
‘हिउचितुवा, याकको संरक्षण तथा प्रवद्र्धन, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर र पर्यटन प्रवर्दन गर्न यस मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेका हौं’, वायोकोष नेपालका प्रमुख पारस विक्रम सिंहले पत्रकार सम्मेलनमा भने । त्यस्तै एन्ट फाउण्डेशनका संस्थापकले ‘गतबर्ष देखि यो खेलको आयोजना गरेका हौं,बिभिन्न क्षेत्रमा काम गरेर आफ्नो पहिचान बनाई सक्नु भएका सेलिब्रेटीहरुलाई हिमालयन स्नो लिवपर्ड टिमको नाम दिएका छौं उक्त टिममा समावेस गरेर उक्त क्षेत्रको आवाजलाई बाहिर ल्याउने प्रयास हुनेछ ।’ भन्नु भयो ।
अनिल गुरुङ्गले लगातार दोस्रो पटक टिम हिमालयन स्नो लिवपर्डबाट खेल्नेछन् । ‘मैले मनाङ्ग मस्याङ्दीबाट धेरै फुटबल खेल्दा एक पटक मनाङ जाने इच्छा थियो ।
त्यो बेला मेरो सपना पूरा भएको थिएन । तर गतवर्ष त्यहाँ पुगेपछि मलाई एकदमै खुसी लाग्यो’, उनले भने । त्यसैमा थपे, ‘हाम्रो नेपालमा यति राम्रो ठाउँ रहेछ । त्यहाँ गएर फुटबल खेल्नुपर्ने र ट्रेनिङ गर्नुपर्ने जस्तो लाग्यो ।’
स्थानीय जनताले हालसम्म मनाङमा गरेको प्रकृति संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने मानव र वन्यजन्तु बिच सहअस्तित्व कायम गर्न वन्यजन्तुबाट हुने हानी नोक्सानी बापत राहत रकम यथासिघ्र उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्न जस्ता प्रमुख उदेश्य लाई प्राथमिकतामा राखेको आयोजकले पत्रकार सम्मेलनमा बताए ।
त्यस्तै प्रतियोगितामा प्रयोग हुने जर्सी पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।