‘एनसेल फाउन्डेसन’ घोषणा २० करोड रुपैयाँ बराबर सामाजिक काममा योगदान गर्ने प्रतिबद्धता
काठमाण्डौ,असोज १ गते । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ ।
नेपाल र नेपालीलाई दूरसञ्चार सेवा मार्फत जोड्न थालेको एनसेलले मंगलबार नेपाल यात्राको १९औं वार्षिकोत्सव मनाउँदै उक्त फाउन्डेसन घोषणा गरेको हो ।
एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ बराबर सामाजिक काममा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
‘१९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक काम गरी २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढीको योगदान गरेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मंगलबार आयोजित विशेष कार्यक्रममा भने, ‘हाम्रा सबै राम्रा कामलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्नेमा विश्वास गरेर एनसेल फाउन्डेसन स्थापना गरेका हौं ।’
कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको ‘भिजन’ रहेको बताएका छन् ।
फाउन्डेसनको उद्देश्यमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइड कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।
एनसेलले वृहत्तर हितका पक्षमा सामाजिक काम गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, आफ्ना परिवारजन तथा आफन्तसँग सम्पर्कमा रहिरहन कम्पनीले ग्राहकलाई १ अर्ब ६० करोड बराबर सेवा सुविधा निःशुल्क उपलब्ध गराएको थियो ।
कोभिड महामारीका बेला सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो ।