सोट्टो नेपाल र बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा बुढानिलकण्ठ मन्दिरदेखि डाँडागाउँसम्मको उत्कृष्ट पदयात्रा
काठमाडौं । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो नेपाल) र बुढानिलकण्ठ नगरपालिकाद्धारा संयुक्तरुपमा आयोजित एक दिवसीय पदयात्रा गरिएको छ । एक दिवसीय पदयात्राले बुढानिलकण्ठ नगरपालिकाभित्रको उत्कृष्ट सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर गरेको छ । यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ भएको र सोही सन्देशसहित बुढानिलकण्ठ मन्दिर–मुहानपोखरी–विष्णुद्धार–डाँडागाउँ होमस्टेसम्मको प्रचार प्रसार एवं प्रवद्र्धन गरिएको हो । नेपाल पर्यटन बोर्ड, बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्ड, पर्यटन कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यवसायीसहित करिब २०० जनाको उपस्थितिमा एक दिवसीय पदयात्रा सम्पन्न गरिएको हो ।
त्यस अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक छटा र त्यस क्षेत्रको सांस्कृतिक महत्व एवं होमस्टेको अर्गानिक खाना लगायत त्यहाँको सम्पदाबारे नगरपालिकाले सबैलाई जानकारी दिँदै घुमौं बुढानिलकण्ठ भन्ने अभियानका साथ नगरपालिका अगाडि बढेको जानकारी गराएको थियो । नगरपालिकाकी उपेमयर अनिता लामाले पदयात्रा समापनमा डाँडागाउँसम्मको संस्कृति र प्रकृतिको सदुपयोगमार्फत अर्थाेपार्जनको उपयुक्त माध्यम बनाउन आफूहरु लागिरहेको जानकारी दिइन् । त्यहाँको पदयात्रालाई बिक्री गर्न योग्य बनाउन सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिइन् ।
पदयात्रा समापन गर्दै सोट्टो नेपालका अध्यक्ष भुवन पाण्डेले सबै दल र तीन तहको सरकार मिलेमा पर्यटन दिवसको नाराअनुरुप पर्यटन र शान्ति कायम हुने बताउँदै सांस्कृतिक एवं प्राकृतिक सम्पदामार्फत पाहुनालाई पटक–पटक आउने बनाउन सबै मिलेर लाग्नुपर्ने बताए । पर्यटकलाई आफ्नो यात्रा सम्झनयोग्य बनाइदिन सबैको सहकार्य आवश्यक भएकोमा उनले जोड दिए । आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने भन्दै उनले स्थानीय पालिकाले बजेट छुट्याएर पूर्वाधार सहज बनाइदिनुपर्ने भनाइ राखे । नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले नयाँ–नयाँ रुट प्रवद्र्धन गर्न सोट्टो नेपालले खेलेको भूमिकाप्रति प्रशंशा व्यक्त गर्दै बोर्डले प्रचार प्रसार एवं प्रवद्र्धनका लागि संधै सघाउने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्यमशिलता विकासमा होमस्टेले सहयोग गरिरहेको भन्दै पर्यटनमा आकर्षण बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले अमेरिका जापानमा भन्दा पनि नेपालको पदयात्रा पर्यटन उन्नत रहेको भन्दै यस्ता क्षेत्रको उजागर गर्न सोट्टो नेपाल आक्रमक ढंगले लागेकोमा प्रशंशा व्यक्त गरे । सोट्टो नेपालका पूर्व अध्यक्ष यम खड्काले निकुञ्जको प्रकृति नमासिने गरी सहज संरचना बन्नुपर्ने भन्दै बुढानिलकण्ठ मन्दिरसँगै त्यस क्षेत्रको प्रकृतिको सदुपयोगमा नगरपालिकाले पहल लिनुपर्ने धारणा राखे । बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डका अध्यक्ष अर्जुन पाण्डेले त्यस क्षेत्रको प्रचार प्रसारमा सबैको सहयोग आवश्यक रहेको धारणा राखे ।
बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डकी सदस्य एवं पर्यटन व्यवसायी जया बरालले त्यहाँ होमस्टेको मिठो खाना र आतिथ्यताले सबैको मन जितेको भन्दै विश्व प्रसिद्ध पॉच तारे चेन होटल लेमन ट्रि प्रिमियर, होलिडे इन रिसोर्टका साथै रेजेन्टा सब्रिना(रोयल अरकिड होटल ग्रुप) देिख ३/ ४ तारे होटलहरु तथा नन्स्टार होटलहरु रहेको र पर्यटकहरुलाई त्यस क्षेत्रमा बस्न कुनै समस्या नहुने जानकारी दिइन् । जुनसुकै स्तरका आन्तरिक तथा बाह्य पर्यटकलाई बुढानिलकण्ठले स्वागत गर्ने जानकारी दिँदै बरालले शान्तिको खोजि गर्न ध्यान र मेडिटेशन गर्ने प्रसिद्ध विपश्यना ध्यान केन्द्र, नागी गुुम्बा, इश्कोन मंन्दिरहरु पनि त्यहाँका उत्कृष्ट सम्पदा रहेको जानकारी दिइन् ।
सोट्टो नेपालले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसर पारेर कुनै एक नयाँ गन्तव्यको हाइकिङ(पदयात्रा) गरी त्यसको उजागर गर्दै आइरहेको छ ।