एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागि हुने टोली निर्धारण
काठमाण्डौं,असोज ९ गते । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ । सहभागी राष्ट्रमा पुरुष तर्फ १४ र महिला तर्फ ८ टोली रहने छन् । प्रतियोगिताका लागि ४ सय ५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन् ।
प्रतियोगितामा नेपाल सहित फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान,भारत, कतार, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ, श्रीलंका, गुआम, इन्डोनेसिया र इरान रहेका छन्। पुरूष तर्फ फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत,कतार, नेपाल, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंकाको सहभागिता रहने छ। महिला तर्फ नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्बेकिस्तान र इन्डोनेसिया बिच प्रतिस्पर्धा
हुनेछ।
नेपालमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीलाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ । एसियाली रग्बीको यस वर्षको सबैभन्दा ठूलो यस प्रतियोगितासँग इमिरेट्सले मुख्य प्रायोजकमा सम्झौता गरेको हो । नेपालमा पहिलो पटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ।
यसअघि सन् २०२२ मा अन्डर १८ र सन् २०२३ मा अन्डर २० रग्बी दशरथ रंगशालामा नै आयोजना गरिएको थियो ।