विपद्को समयमा हवाई भाडा नबढाउन निजी हवाई सेवा प्रदायक कम्पनीहरूसँग प्रधानमन्त्री ओलीको आग्रह
काठमाण्डौं,असोज १३ गते । अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा हवाई भाडा नबढाउन निजी हवाई सेवा प्रदायक कम्पनीहरूसँग आग्रह गरेका छन् । ओलीले आइतबार सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै भाडा सहुलियतमा गर्न वा यसअघिकै भाडा दर कायम गर्न अनुरोध गरेका हुन् ।
उनले भनेका छन्, ‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।’
प्रधानमन्त्री ओलीले उद्धार उडानको व्यवस्थासमेत सरकारले गरेको बताएका छन् । उनले भनेका छन्, ‘नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुका लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ। हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।’