यस वर्षको हिउँदयाममा गर्मी र वर्षा बढी हुने
काठ्माण्डौं,असोज २२ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयामको ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
विभागले यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म (असोज १५ देखि पुस १५ गतेसम्म)को तीन महिनाको अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।
‘यसको मतलब दिउँसो र राति दुवै समयको तापक्रम सरदरभन्दा बढी भई गर्मी हुने भनेको हो,’ विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले प्रष्ट्याइन् ।
अधिकतम तापक्रम दिउँसोमा र न्यूनतम तापक्रम रातिको समयमा मापन गरिन्छ ।
विभागका अनुसार बागमती प्रदेशको मध्य तथा दक्षिणी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भूभाग, लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भूभागभा सदरभन्दा बढी गर्मी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।
यस्तै कणाली प्रदेशको मध्य तथा उत्तरी भाग र सुदूरपश्चिमको उत्तरी भागमा सरदरभन्दा कम वर्ष हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
गत वर्षको हिउँदमा पनि मौसमविदले सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेका थिए । गत असोज २१ गते जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको उल्लेख थियो।
तर सो प्रक्षेपण नमिलेर गत वर्ष हिउँद र प्रि–मनसुन सिजन सुक्खा भएको थियो ।
त्यसो त हिउँदयाममा नेपालमा कम पानी पर्छ । जून महिनादेखि अक्टोबरसम्मको मनसुन अवधिमा वर्षभरिको करिब ८० प्रतिशत वर्षा हुने गर्छ। हिउँदयाममा भने कुल वार्षिक परिमाणको ३-४ प्रतिशतमात्र पानी पर्ने गरेको छ। हिउँदयाममा वर्षा कम हुँदा सुख्खाका कारण डढेलो लाग्ने र वायु प्रदूषण बढ्ने गर्दछ ।