मनीष र दावा छनोट
काठमाण्डौं,असोज २२ गते ।चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पिन्सिपका लागि २ पुरुष खेलाडी मंगलबार छनोट भएका छन् । नेपाल क्योकुसिन कराते आईकेओ संघले पिङलास्थानमा आयोजना गरेको एकदिने छनोट प्रतियोगिताबाट २ खेलाडी छनोट भएका हुन् ।
पुरुष खुला तौलसमूहमा ओखल्ढुङ्गाका मनीष कार्की छनोट भएको आयोजक संघका अध्यक्ष दमन बस्नेतले जनाएका छन् । उनले फाइनलमा ललितपुरका गौरव आचार्यलाई पराजित गरे । पुरुष एकल कातामा शीर्ष स्थानमा रहँदै सोलुखुम्बुका दावा शेर्पा छानिए । प्रतियोगिता जापानमा फेब्रुअरी २२ देखि २५ तारिखसम्म हुनेछ ।
छनोट प्रतियोगिताको मुख्य जुरीमा दमन बस्नेत, मुख्य रेफ्रीमा प्रमुख प्रशिक्षक रोशन कपाली तथा सहायक रेफ्रीमा नन्दकुमार किराँती, जिनेश डंगोल, धनबहादुर हाङदुङ र प्रवेश किराँती रहेका छन् । खुला तौलसमूहमा १६ तथा कातामा १४ खेलाडीको सहभागिता रहेको अध्यक्ष बस्नेतले जनाएका छन् ।