साफ वुमन्स च्याम्पियनसिप : नेपालले भुटानसँग आज पहिलो खेल खेल्दै
काठमाण्डौं,कार्तिक २ गते । साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा नेपालले भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले यो खेल खेल्ने भएको छ ।
साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले उनले पहिलो खेल गुमाउने भएकी हुन् । यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।
तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ ।
युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ ।
नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले भुटानलाई ८-० ले पराजित गरेको थियो ।