थिमीमा ‘मध्यपुर महोत्सव’ हुने
मध्यपुर थिमि,पुष ७ गते । मध्यपुर थिमिलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने मूल उद्देश्यले भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नरपालिकाको आयोजनामा यही पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुन लागेकाे हो ।
पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता मनन् गरी पर्यटनलाई स्थानीय विकासको साझेदार बनाइ स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना हुन लागेकाे बिहीबार मध्यपुर थिमी नगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
थिमि शंखधरचोकबाट शुरु भई महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी बालकुमारी, चपाचो, नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा सञ्चालन हुनेछ ।
होत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने निश्चित भएको छ । क्षेत्रगत समितिहरुले संकलन गरी महोत्सव सञ्चालक समितिले अनुमोदन गरेको विवरण अनुसार स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ । साँस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी हुनेछ भने नेपाली मुद्रा एवम् सिक्काहरुको प्रदर्शनी नगदेश र बोदेमा हुने व्यवस्था गरिएको छ ।
नेवारी संस्कार र भेषभुषा प्रदर्शनी ५, शैक्षिक प्रदर्शनी एक, विभिन्न प्रदर्शनी ४, माटोका भाँडाकुँडा र सेरामिक्स प्रदर्शनी १६, मूर्ति र मूर्तिकला प्रदर्शनी ४, बाजागाजासहित क्षेत्रगत परिक्रमा एक, खानाका स्टल ५०, पुस्तक प्रदर्शनी ४, परम्परागत खेल प्रदर्शनी २, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनी ४५ स्थानमा रहनेछ ।
घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकलाका उत्पादनहरुको बालकुमारी र चापाचो गरी दुई स्थानमा हुने प्रदर्शनीमा १२० स्टल रहने छ । ऐतिहासिक जात्रा, पर्व र नाचको डेमो प्रदर्शनी ७ स्थानमा रहने छ ।
ऐतिहासिक प्याखँ तथा नाचतर्फ अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, जोगी प्याखँ, दिगंवर(साँज्या) प्याखँ, द्योवंवीर प्याखँ, नागचा नाच, पुलुकिसि नाच, भष्मासुर, मयुर नाच, महाकाली नाच, राजकुमार नाच, लाखे नाच, लुसी प्याखँ, वाःपिज्या नाच, सलचा नाच प्रदर्शनीको व्यवस्था गरिएको छ ।
सांस्कृतिक बाजागाजा प्रदर्शनीतर्फ गुँला बाजा, घिन्ताङ्गघिसिं, धिमे बाजा, नायो खिं बाजा, नौ बाजा, बासुरी बाजा, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनीतर्फ कृतन भजन, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन, भजन, रामायण भजन, हरि भजन रहने छ ।