एनएनआईपीए स्पोर्ट्स अवार्ड तार्केश्वरमा अर्को साता
काठमाण्डौ,पुष ९ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डको १९ औं संस्करण पुस २० गते काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने भएको छ ।
अवार्ड आयोजनाका लागि तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ । समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ ।
पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ । एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।