वडाध्यक्ष बर्मा विकास माग्दै मन्त्रालयमा
काठमाण्डौं,बैशाख २७ । नेपालगन्ज उपमहानगरपालिकाबाट योजना सिफारिस सहित संघीय राजधानी काठमाडौं पुगेका नेपालगन्ज–१८ का वडाध्यक्ष सहितको प्रतिनिधिमण्डललाई विभिन्न मन्त्रीहरुले विकासका लागि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरु वडाध्यक्ष दिपक बर्मा नेतृत्वको प्रतिनिधिमण्डलसँग ज्ञापन पत्र बुझ्दै ‘हरसम्भव’ मागको सुनुवाई गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘तराई मधेस समृद्धि कार्यक्रमबाट प्रस्ताव स्वीकृत हुने निश्चित छ’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग बिहीबार भेटपछि वडाध्यक्ष बर्माले भने, ‘उक्त कार्यक्रम अन्तर्गत विभिन्न तीन वटा सडकका लागि बजेट माग गरिएको छ ।’
बर्माका अनुसार, वडा नं. १८ मा बर्दिया बाइपास जाने बाटोदेखि तेज नगर जाने ६ सय मिटर, प्रहरी तालिम केन्द्रदेखि पश्चिम कारकाँदो गाउँ जाने ६ सय मिटर र कारकाँदो गंगा सागरको घरदेखि भंगीटोल सम्मको चार मिटर गरी १६ सय मिटर लामो बाटो पिच गर्न र नाला निर्माणका लागि प्रस्ताव गरिएको छ ।
वडाध्यक्ष बर्मा बिहीबार नै ऊर्जा मन्त्री बर्षमान पुनसँग भेटघाट गरेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पुगेका बर्मा सहितको टोलीले कारकाँदोदेखि बर्दिया बाइपास सडकमा ७५ थान, होटल सिद्धार्थ भ्यूदेखि राँझासम्म तथा सुर्खेतरोडको ग्रिन वेल्टमा १ सय ५० थान, बुद्ध चोकदेखि नयाँ बस्तीसम्म ५० थान र संघीय प्रहरी इकाइदेखि प्रहरी अस्पताल जाने बाटोसम्म ५० थान सोलार बत्ती माग गरेको छ । ‘गरिब बस्तीका लागि निःशुल्क सोलार बत्तीको प्रस्ताव पनि मन्त्रालयमा राखिएको छ’, वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, ‘मन्त्रीज्यूले हाम्रा मागको सुनुवाई गर्ने कुराको आश्वासन दिनुभएको छ ।’
नेकपाका केन्द्रीय सदस्य समेत रहेकी सांसद पूर्ण कुमारी सुवेदी, केन्द्रीय सदस्य दिनेश चन्द्र यादव, जिल्ला सचिव अशोक कोइराला, नगर सचिव दत्त प्रसाद आचार्य सहितको टोलीले मन्त्रीसँग भेटघाट गरेको हो । ‘सबै नेताहरुले विकासको पक्षमा साथ दिनु भएको छ’, वडाध्यक्ष बर्माले भने । त्यसअघि बर्माको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगी मन्त्री रघुविर महासेठसँग पनि विभिन्न चार बुंदे माग प्रस्तुत गरिसकेको छ । ‘मन्त्री शक्ति बस्नेतज्यूलाई पनि आफ्ना मागमा साथ दिन भेटघाट गरी ध्यानाकर्षण गराएको छु’, झण्डै ७ हजार मिटर बाटो पिच गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेका वडाध्यक्ष बर्माले भने, ‘सुनुवाई हुनेमा आशावादी छु ।’ उनले आफ्ना थप मागहरु सहित प्रदेश सरकारसँग जान लागेको जानकारी पनि दिएका छन् ।
नेपालगन्ज–१ का वडाध्यक्ष प्रमोद रिजाल पनि वडाका विभिन्न योजनाहरु सहित राजधानी काठमाडौंमै छन् । उनले युवा तथा खेलकुद मन्त्री, सहरी विकास मन्त्री, ऊर्जा मन्त्री लगायतसँग भेटघाट गरी आफ्ना वडाका प्राथमिकता ध्यानाकर्षण गराएका छन् ।