डा गोविन्द केसी हरेक वर्ष झैं तराईमा बिपत्ती परेको तराई झरे
काठमाडौं,साउन ५ । डा गोविन्द केसी हरेक वर्ष झैं तराईमा बिपत्ती परेको तराई झरेका छन् । हरेक वर्ष वर्षा लाग्नासाथ सिमानामा बनाएका भारतीय बाँध, नदिमा निर्माण गरिएका ड्यामका कारण नेपाली भूमी डुवानमा पर्ने गरेको छ । पूर्वमा सप्तकोशी, कमला नदी तथा पश्चिममा राप्ती नदिले डुवान पार्ने गरेको छ । ति नदिहरुमा भारतले बाँध निर्माण गरेको छ । आफ्ना भूमीमा नागरिक नडुबुन् भनेर भारतले वर्षामा समेत ति बाँधका ढोका खोल्दैन ।
तर नेपाली जनताको सेवाका लागि भन्दै भोट लिएर सत्तामा पुगेका नेताहरुनै भारतका कारण तराई डुबेको भन्न सक्दैनन् । केही दिन पहिले चार मन्त्रीसहित नेपाली सेनाको हेलिकोप्टरमा निरीक्षण गर्न गएका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ लगायतका नेताहरुले तराई–मधेश डुब्नुमा भारत जिम्मेदार नभएको बताए । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिले झण्डै १ सय जनाको ज्यान लिएको विपत्तीको जिम्मा चुरे क्षेत्रले लिनुपर्ने प्रतिकृया दिए ।
तर अर्को तिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भने तराईका बाढी–डुबान आउँनुमा भारतको ठुलो हात भएको बताउँदै अहिले जनताको घरदैलोमा पुगेका छन् । तर सत्तामा पुग्दा भने काँग्रेसको पनि बोलि फेरीन्छ । सत्तामा पुग्दा एउटा बोली र सत्ता बाहिर आउना साथ अर्को बोली बोल्नु नेताहरुको बानी भइसकेको छ । यो वर्ष पनि वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा गोविन्द केसी तराईमा पुगेर बाढी पीडितहरुको स्वास्थ्य परिक्षणमा जुटेका छन् ।
भारतीय बाँधका कारण वर्षा र बाढीको पानीको निकास नभएर सवै भन्दा बढी क्षति र विस्थापित भएका रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा उनले बाढीबाट प्रभावित पीडितहरुको स्वास्थ्य परीक्षण गरेका छन् । विनाशकारी बाढीको डुबानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै गएको देखिएपछि शुक्रवार बिहानै रौतहट सदरमुकाम गौरबाट औषधि, कपडालगायतका राहत सामग्री लिएर केसी बस्तीमा पुगेका हुन् । उनले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा शिविर खडा गरी त्यहाँ आउने बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका छन् ।बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परीक्षण गरेर औषधी वितरण गरिएको केसीले बताएका छन् ।