नेपाल-चीनबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाण्डौं,भाद्र २३ । नेपाल र चीनबीच तीन वटा समझदारी भएका छन्। सोमबार राजधानीको होटल याक एन्ड यतिमा भएको परराष्ट्र मन्त्रिस्तरीय बैठकमा ती तीन समझदारी पत्रमा हस्ताक्षर भएको हो। भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको बताइएको छ ।
सोही क्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारी अनुसार चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउने भएको छ। त्यस्तै आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए ।
चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष, विदेशमन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी थिए ।