स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा
काठमाडौं, कात्तिक ३ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एइबरमाथि ३–० को जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो ।
पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे ।
ग्रिजम्यानले १३ औँ, मेस्सीले ५८ औँ तथा स्वारेजले ६६ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।
ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् । यस्तै गेटाफेले लेगानेसलाई २–० ले पराजित गरेको छ ।