काठमाण्डौंमा लकडाउनको कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई राहत बितरण
काठमाण्डौं,बैशाख १२ । लकडाउनको कारण एक महिना देखी बन्द रहेको अवस्थामा काठमाण्डौंलाई आफ्नो कर्मथलो बनाएका श्रमजिवी दलित पत्रकारहरुलाई राहत बितरण गरिएको छ ।
शुक्रबार भक्त बिबी हेल्पिङ हेण्ड्स फर ह्युमनेटी संस्थाद्धारा काठमाण्डौंमा अप्ठ्यारोमा परेका दलित पत्रकारहरुलाई राहत बितरण गरिएको हो ।
सो संस्थाका तर्फबाट भ्रष्टाचार बिरोधी अभियानकर्ता शारदा भुसाल झा र अभियानता ज्ञानु भट्टले ३१ जना पत्रकारहरुलाई १ बोरा चामल,तेल,चाउचाउ,दाल,सोयाबिन,भुजा,नुन,सेनिटाइजर र मास्क बितरण गर्नुभएको थियो । भ्रष्टाचार बिरोधी अभियानकर्ता प्रबिण श्रेष्ठ ले यातायातको ब्यवस्थापन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष भक्त बहादुर भण्डारी ले अमेरिकाको टेक्सासमा २०१९ मा उक्त संस्था स्थापना गर्नु भएको हो । संस्थाले कोरोना संक्रमणका कारण देशभर लकडाउन रहेको र सर्वसाधारणलाई खाध्यान्न अभाव कमी नहोस् भनी सानो सहयोग गरेको जनाएको छ ।
संस्थाले यस अघि कन्चनपुरको भिमदत्त नगरपालिका वडा ४ मा रहेका दलित मजदुरका १६० परिवार र पाल्पा जिल्ला रिप्तिकोट गाउँपालिक वडा नं ४ रातामाटामा रहेका बिपन्न १३ परिवारलाई खाध्यान्न राहत बितरण गरेको छ ।