‘इजा ‘ को जून – राजेन्द्र तारकिणी (कबिता)
काठमाण्डौ,असार १ । *इजा * को जून
गाउँमा
इजाको त धुइरोबाट जून खस्थ्यो
शहरमा
वर्षौंपछि मैले देखेँ जून ।
त्यो वर्षात/त्यो कुहिरो/त्यो झरीपछि
महिनौँपछि आज
मैले पूर्ण चन्द्रमा देखेको हुँ
बादलको पछ्यौरी फाटेछ आज
अहो ! इजाको पछ्यौरी पो फाट्यो कि !
चन्द्रमामा त्यस्तो कुनै अनुहार देखिनँ
जो प्रेमकथाहरूमा वर्णित होस्
तर, मैले देखेँ त्यस्तो अनुहार
जोसँग टोलाउँदै इजाको बालापन बितेको होस्
जोसँग जिस्किँदै इजाको यौवन बितेको होस्
दुःखका पन्तुरा खोल्दा इजाले
जसले रातभरि शीतका आँसु झारेको होस्
जूनकीरीजस्ता खुसी साँट्दा इजाले
जो यसैगरी हाँसेको होस् कुनै–कुनै मात्र रातमा !
त्यहाँ
दुःखले गहिरोसँग चुम्बन गरेको खत छ
जो मेरै इजाको बुढ्यौलीको हुलिया हो ।
कहिले पधेँरीमा खसेको जून
कहिले धानखेतमा टप्केको जून
कहिले ओखलमै आइपुगेको जून…
आदि अनेक जूनहरू मिलेर
एकैचोटि यति जीवन्त पूर्णजून
कहिल्यै देखेको थिइनँ
इजाको अनुहारकै प्रतिविम्ब जून ।
–०–
*इजा * अर्थात् आमा (कविता कुनै दिन शहरमा जून हेरिरहँदा लेखिएकाे हाे)