सुदुरपश्चिमको दशैं पर्व एक झलक ( भिडियो सहित )
काठमान्डौ ११ कार्तिक । हिन्दुहरुको महान चाड दशैं नेपाल देशभर मान्ने आ–आफ्नै सांस्कृतिक परम्परा छ । आउनुहोस् यस्तै रोचक परम्परा बोकेको दशैं पर्वको बारे तपाईंंहरुलाई जानकारी गराउन गई रहेका छौं । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं ४ बन्ना मा अवस्थित गणमेश्वर महाराज मन्दिर र ठाकुर उदयदेव महाराजको मन्दिर प्रख्यात मानिन्छ । भौगोलिक दृष्टिकोणले अति नै रमणिय स्थान र शक्तिपिठका रुपमा पूजाआजा गरिंदै आएको छ ।
बिशेष गरी सो क्षेत्रमा बसोबास गर्र्ने चन्द ठकुरी परिवारले ईष्टकुल देवताको थलो मान्दै आएका छन लगायत बाहुन, क्षेत्री, र अन्य जातले पनि पुजापाठ गर्ने परम्परा छ । प्रचलन अनुसार बडा दशैंको बेला ८ दिन सम्म ब्रत बसी आठौं दिनका दिन महाकालीलाई आ–आफ्नो भाकल अनुसारको बली चढाइ ब्रत सम्पन्न गरिन्छ । ब्रतालुहरुले पहिलो दिन महाकाली नदी किनारमा रहेको देवतालमा एक रात जागराम बसी बिहानै महाकाली नदिमा स्नान गरी मन्दीरमा पूजाआजा गरेर ब्रत बस्दछन । पूजामा चामल अक्षेता , स्थानिय भाषामा नेजा अर्थात धजा, घण्टा, नगद ,फलफुल चढाइ र सुन दान गर्ने प्रचलन छ ।
सो दिन स्वदेश तथा छिमेकी मुलुक भारतबाट आउने भक्तजनहरुको निकै भिड लाग्दछ । तत्पस्चात सबै आ–आफ्ना ईष्टकुल देवता रहेको शक्तिपिठ तिर लाग्दछन ।दोस्रो दिन देखी गणमेश्वरको मन्दिरमा पूजाआजा गरी एक छाक खाने चलन छ ।
उक्त ब्रत ४ दिन सम्म चल्दछ । नौंरथा को ५औं दिन श्री ठाकुर उदयदेव को मन्दिरमा पनि पूजा गर्ने गरिन्छ । छैठौं र सातौं दिन पुन गणमेश्वरको मन्दीरमा पूजा गरी आठौं दिन पुन श्री ठाकुर उदयदेवको मन्दिरमा पूजाअर्चना पस्चात सो ढोका बन्द गरी भगवती महाकालीका नाममा भाकल अनुसार पशु बली दिने गरिन्छ । यसरी ८औं दिनका दिन ब्रत सकिना साथ प्रशाद स्वरुप पाएको मासुलाई घरमा ल्याइ पकाएर खाने गरिन्छ । दशमी अर्थात दशैंका दिन गणमेश्वरको मन्दिरमा राखिएको जमरा काटी सबै गाउँलेलाई बितरण गर्ने र धामी मुख्य पूजारी बाट आशिर्वाद थाप्ने परम्परा रही आएको छ ।