राष्ट्रकवी माधवप्रसाद घिमिरेको महाप्रस्थान राजकिय सम्मानका साथ अन्त्त्येष्टी
काठमाडौं,भदौ ३ । मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेको बुधवार अन्तिम विदाइ गरिएको छ । उनको काठमाडौको पशुपति आर्यघाटमा अन्तिम विदाई गरिएको हो । करिब ११ वजे तिर उनको पार्थिव शरिरलाई आर्यघाट लगिएको थियो । पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको हो ।
राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले उनको पार्थिव शरीरमा दागवत्ती दिएका हुन् । घिमिरेकी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् । घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुगेका थिए । दागवत्ती दिनुअघि राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।
अन्तिम विदाई गर्नु अघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका थिए । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद् निधनले स्तब्ध भएको बताएका छन् छ । आज शोक वक्तव्य जारी गर्दै उनले राष्ट्रकविप्रति श्रद्धाञ्जलि व्यक्ति गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
राष्ट्रकवि घिमिरेलाई भौतिकरुपमा बिदा गर्नुपर्दा राष्ट्रलाई ठूलो क्षति भएको उल्लेख गर्दैै उपराष्ट्रपतिले राष्ट्रकविले राष्ट्रलाई दिएको अमूल्य साहित्य सिर्जना तथा राष्ट्रका लागि दिएको उच्च योगदानले भने उनी सधैँसधैँका लागि बाँचिरहने बताएका छन् ।
साहित्य सिर्जनामार्फत राष्ट्रकवि घिमिरेले राष्ट्रका लागि पु¥याउनु भएका अमूल्य योगदानको उच्च सम्मान गर्दै उपराष्ट्रपतिले शोक वक्तव्यमा भनेका छन्, “राष्ट्रकविमा भएको देशभक्ति, प्रकृति प्रेम भावलाई अङ्गाल्दै उहाँले जीउनुभएको सरल आदर्श जीवनलाई अनुशरण गर्न सक्यौँ भने राष्ट्रकवि घिमिरेप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”