रामचन्द्र पौडेललाई किन पक्राउ गरेको ? भन्दै देउवाले ओलीलाई फोनमा सिधै थर्काए पछि
काठमाडौं,१७ मंसिर । तनहुँमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेपछि सभापति शेरबहादुर देउवाले सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विषयमा प्रश्न गर्दै ओलीलाई दिउसो फोन गरेका हुन् ।
देउवालाई प्रधानमन्त्री ओलीले सुरक्षाका कारण पौडेललाई पक्राउ गरिएको जवाफ दिएको बताइएको छ । बुधबार तनहुँमा एक पुल उद्घाटन गर्न जान लागेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेलले पुल उद्घाटन गर्न लागेको भन्दै नेकपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गर्न थालेपछि स्थानिय प्रशासनले पुल क्षेत्र आसपासमा निधेषाज्ञा जारी गरेको थियो । पौडेलले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई बुधबार दिउँसो टेलिफोन गरेको उनका स्वकीय सचिव भानु देउवाले पुष्टि गरेका छन् । अवस्था विग्रन लागेकाले पौडेललाई पक्राउ गरेको जवाफ ओलीले दिएको भानुले बताएका छन् ।
ओलीको जवाफमा प्रतिप्रश्न गर्दै देउवाले “शान्तिसुरक्षाको लागि भए उहाँ (पौडेल)लाई किन उहाँको घर नलगेको ? किन चौकी लगेको ?” भनेर प्रतिप्रश्न गरेका थिए ।
तत्काल नेता पौडेलको रिहाइ गर्न पनि उनले प्रधानमन्त्री ओलीलाई देउवाले भनेका छन् । बुधबार दिउँसो ब्यास नगरपालिकामा नवनिर्मित पूल उद्घाटनका लागि पौडेल गएका थिए । सो क्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले अवरोध प्रयास गरे पछि अवस्था विग्रन नदिन प्रशासनले बल प्रयोग गरेको जनाएको छ ।
तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको हुँदा कांग्रेस नेताले नै उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर पौडेललाई बोलाए पनि नेकपाका कार्यकर्ताले पौडेललाई पूल उद्घाटन गर्न दिन नहुने माग गर्दै विरोध जनाएका थिए ।