यहाँ चढाइने राेटीलाइ राेट भनिन्छ
पाल्पा–पाल्पाको सदरमुकाम तानसेनबाट झन्डै ९ किलोमिटरको दुरीमा रहेको भैरवनाथको मन्दिर प्रख्यात रहेको छ । रिब्दीकोट गाँउपालिका वडा न. ४ मा रहेको सो मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् ।
यहाँ खासगरि चामल,गहुँ का राेटी चढाइन्छ राेटी पुरा एक माना या पुरा एक पाथीका वनाइन्छ भने तिनि राेटीलाइ राेट भिनन्छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सो मन्दिरमा बर्षेनी १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् भने मन्दिरले प्रतिबर्ष भेटीबाट मात्रै ५० लाखको हाराहारीमा आम्दानी गर्ने गरेको छ ।भैरबको मन्दिरमा त्रिशुल तथा रोट चढाएर पूजा गर्न दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । खासगरी दशैको बेला, मंसिर तथा बैशाखमा उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् । बि.सं.१४६५ मा पाल्पाका राजा मुकुन्द शेनले भैरवस्थलमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ ।
यो मन्दिरमा सबैभन्दा ठूलो सुनकोजलप लगाएकाे त्रिशूल समेत रहेको छ । पाल्पा गौंडाको प्रमुख खड्ग शमशेर राणाले आफ्नी श्रीमतीको इच्छा अनुसार यो मन्दिरमा सुनको जलप लगाइएको ठूलो त्रिशूल राखिएकाे भन्ने भनाई छ ।
मन्दिरको आसपासमा स्थानीयहरुले रोट पकाउने पसल नै खोलेर जिविकोपार्जन समेत गर्दै आइरहेका छन् । रोट बनाउने पसललाई रोट घर भन्ने गरिएको छ । रोट व्यवसायीहरुले एक माना चामलको पिठोबाट बनेको रोटको १ सय रुपैयाँ लिने गरेका छन् भने १ पाथी पिठोबाट बनेको रोटको एकहजार रुपैँयासम्म लिने गरेका छन् । यहाँ दर्शन गर्न पुग्ने भक्तजनहरुले आफूले गरेको भाकल पूरा भएपछि सोही अनुसारको रोट चढाउन आउने गरेका छन् ।
मन्दिर पुग्न मुल सडकबाट २ सय ५० सिँढी चढ्नुपर्छ । सिँढीको आसपासमा रोट बनाउने घर तथा फूल प्रसाद बिक्री गर्ने पसलहरु रहेका छन् ।