रत्नाकर डाकु बाल्मिकी ऋषिमा रुपान्तरण नहुने यो युग – रामु शाही ठकुरी ( बिचार )
त्यो त्रेता युग थियो जब रत्नाकर डाकु पनि जीवनको उत्तरार्धमा गएर बाल्मिकी ऋषि बनेका थिए, तर अहिले त कलियुग ह। यदि तेही रुपान्तरणको आशा हो भने जनसमुदाय समयको बर्बादी हो किन भने १२ वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बांगोको बांगो नै हो। भारतको नोयडामा बसेर भारतीय बिस्तारबाद बिरुद्धको सुरुङ्ग युद्ध हाक्ने हावादारी गफ दिने अनि बाँदरमुढेमा त्यो कहालीलाग्दो घटनालाई घटित गराउने बाट के अपेक्षा गरेका छौं हामीले ? देशमा दक्षिणको फौज ल्याउन तयारी गरौ भन्ने को मुख हेरेर पनि त सायद समस्या त नसल्टिएला।
समाजवादको दुहाइ दिने लाल दुनियाले, घुमाउरो पाराले पुंजिबादलाइ हार्दिकताका आत्मसाथ गरेको बुझिदैन भने धेरै जानेको बुझेको भनेर दर्शनका कुरा न छाँटे हुन्छ हामी जनता माँझमा। क्रान्तिको फड्कोमार्ने ४० बुंदे अनि १२ बुंदे ले फड्केर नै होला देश धेरै उँभो लागिसक्यो ( त्यसको लागी ग्राफ हेर्नुहोला तर उल्टो पारेर )। पुरानो सबै ध्वस्त पारेर अघि बढ्नु पर्छ भन्ने रणनिति नै हो, ति बिचरा कुम्भ नारायण दाइले चलाको ट्याक्सी जलाउनु, अब तिनी दाइले नया ट्याक्सी चलाउन पाउनेछन ( तर के कसरि एकचोटी हाम्रा पत्रकारज्युहरुले गएर बुझाइदिन पर्यो ) हामीलाई पनि। अझै तेही माथि ढाडमा टेकेर टाउकोमा हान्ने उहाहरुको सबै भन्दा मन परेको कार्यक्रम हो, अरुलाइ त हानियो भने जाबो साधारण हामीजस्तो जनतालाई हान्न कुन चै ठुलो कुरा हो र?
हिजोका दिनमा ५ दिन सम्म लगातार बन्द गरेको हामीले भोगेकै हो, बन्दलाइ बन्द गर्ने भनेर सबै राजनीतिक भनाउदो दल हरुले प्रतिबद्धता गरेको १ महिना पनि नबित्दै आन्दोलन र बन्द गरेको स्मृति त ताजै छ। अनि यस्तोमा हामीले यस्ता अराजक अनि मांसाहारी आन्दोलन र बन्द भोग्नु कुनै नौलो कुरा पनि होइन र यो अनपेक्षित पनि होइन।
जबसम्म रगतमै घोलिएको राजनीति थेग्राएर फ्याकिदैन यस्तै हुन्छ, बानी पारेको राम्रो हो। हामीलाई रवाफ र प्रभाव चाहिएको छ, मैले फलानो नेतालाई चिनेको छु अनि मैले भने पछि नाइँ भन्दैन भनेर सुनाउन परेको छ त्यो पनि चोकको त्यो चिया पसलमा। राम्रोलाइ राम्रो अनि नराम्रो लाइ नराम्रो भन्न नसक्ने हाम्रो भेडो पाराको पक्षपोषणले नै हो आजको दिन निम्त्याएको।
१५/१६ बर्ष पछाडी देश तेही ठाउमा आइपुगेको छ, हिजो पनि संसद भंग भाको थियो, हिजो पनि जंगलतिर कोहि थिए, भ्रसटाचारले तेही बेला पनि नेटो काटेकै थियो , हामीजस्ता साधारण जनताले बन्द र हड्ताल खेपेकै थियौ। हिजो बुझिएको थिएन राम्रो संग आज एक एक बुझेको छु। एक एकको भित्रि पाटाहरु जनातामाँझ खुलिसक्यो। तेती हुँदाखेरी पनि तेही नेता अनि तेही नेताको चाकडी, चाप्लुसी अनि अन्धभक्त अनुयायी बन्न तल्लिनलाइ भन्नु केहि छैन मलाइ तर एउटा अनुरोध छ सारा नेपालीको तर्फ बाट ” एकचोटी मानिस भएर सोचिदिनुस, एकचोटी नेपाली बनिदिनुस अनि एकचोटी नेपालको सच्चा नागरिक बनिदिनुस “।
यो सबै कुरालाई अझै पनि बेवास्ता गर्दै बस्नेहो भने हिजो जंगल बाट क्रान्ति ल्याइयो अब प्रतिक्रान्ति पनि हुनसक्छ भनेर आलाप गाउने हरुलाई पक्कै पनि लागिसकेको हुन पर्छ, उहाहरुले भनेको प्रतिक्रान्ति अब हुन लागेको छ भनेर। रंग फरक होला, रुप फरक होला अनि पात्र फरक होला तर प्रतिक्रान्ति अबको माग हुन लागिसक्यो।
बेलैमा विचार गरौ नेताज्यूहरु, आफुलाई अन्धो पिछलग्गु नबनाऔ कर्यकर्ताज्युहरु, के गर्नु यस्तै रैछ भनेर भ्रमित नबनाऊ जनताज्युहरु अनि भोलि हामीले कार्यबाही भोग्न पर्लाकी भनेर खेइ नगरी नबसौ सुरक्षाकर्मीज्युहरु, नेताहरुको प्रायोजनमा मात्रै लेख्ने अनि स्वतन्त्र बिचारलाई दबाउने नगरौ पत्रकारज्युहरु, अनि म यहि पार्टीको कोटाबाट आको भनेर निर्णय नगरौ न्यायाधिशज्युहरु। हैन यसरी नै जाने हो भने म चाहन्छु बलियो एउटा संस्थाले काम गरोस भ्रस्टाचार नियन्त्रण शाही आयोगले जस्तै , यसै दुख पौने उसै पनि दुख पौने अनि सुरक्षा पनि प्रत्याभूत नहुने हो भने म्यान्मारको नियति आएछ भने पनि केहि फरक पर्ने वाला छैन। किन भने जनताको दुख जनताको घरको कोठा भन्दा थोरै माथी प्रशासन अनि त्यहाको स्थानीय राजनैतिक नेता भनाउदोहरु सम्म पनि पुगेको आखिर छैन।
समयले देखाइसक्यो उतिबेला त्रेता युगमा एउटा रत्नाकर नाम गरेको डाकु पछि गएर बाल्मिकी ऋषि बने, तर अहिलेको कलि युगमा जतिसुकै जंगलमा बसे पनि त्यो खाले परिवर्तन हुदैन रैछ।
विदेशीले हामीले पालेको हो भनेर घोसणा गरिसक्दा पनि फेरी देशकोलागी लडेको भन्ने कुरालाई पत्याएर उसकै पछि लागेर हिड्ने हो भने, अब एउटा प्रश्नको उत्तर हामीले खोज्नै पर्छ, अनि त्यो प्रश्न हो ” कहिले होला हामी मानिस बन्ने ?” |