सुन साथी हो ! यो बुढी दार्जिलिङलाई, पहाडकी रानी होइन ,पहाडको राजा भएको घोषणा झट्पट् गर -किरण ठकुरी (कविता)
कत्ति विश्वास नगरेको !
हिजो त हो,
मेरो आँखामा
आफ्नाे अनुहार हेरेर;
निराश बनी मुर्झाएको
थियो यो दार्जिलिङ।
कसरी हो फेरि !
अभिवादन पठाउछन्,
बिहान-बिहान
मेरा साथीहरू;
“गुड मर्निङ
पहाडकी रानी दार्जिलिङ।”
थत् झूठो प्रशंसा!
हन् कस्तो बकवास!
थिएँ जब सानो
म यस ठाउँमा,
थिएन चिन्ता
कसलाई पो यो ठाउँमा ?
लुकाइ राखेका थिए
सबैले आ-आफ्ना,
दिवा सपनामा
यही दार्जिलिङको सपना।
कहाँ थियो र यस्तो लट्याङ-पट्याङ
आफ्नो सुन्दर प्यारो दार्जिलिङ!
छि: कत्ति छिटो चिथोरेको!
छि: कत्ति लोभी!
हेर, निराशामा फूल्न नसकेको
यो दार्जीलिङ;
अचम्भको एउटा फूल झैं झरेको!
यसलाई हावा देऊ तर नचुँडाउ,
बस अलिक पर।
कमजोर भएको छ यो दार्जिलिङ
उपनिवेशवादको शिकार भएर।
शोषण र अत्यचारमा
घिसीएर पिसीएर
समय समयमा ठूलो स्वरमा
खोक्नु मात्र यसले जान्दछ।
दौडी दौडी बीच सडकमा
रगत छाद्नु मात्र जान्दछ।
नेता धेरै दख्यौं
तर जेता देखेनौं
हेराइ-कोराइ गर्नेहरू देख्यौं
तर ड्याङ्ग्रो ठटाएर
तोरण बान्ने
टुने-मुनेहरू देखेनौं।
चाउरिएको दार्जिलिङलाई यताउता लाँदै
सुन्दरी नै हो भन्दै
बेची खानेहरू पो लछेप्रै देख्यौं।
सुन्दरताको पोस्टर टाँसेर
बार्हैमास बलत्कार गरिन्छ यो दार्जिलिङ।
छि: बेशयालयको बेश्या बनाइयो यो दार्जिलिङ
खै, भन्दा पनि हुन्छ आङ सिरिङ सिरिङ।
शोषण गर्नुथियो,
शासकहरूले यसलाई पहाडकी रानी बनायो।
जतिपल्ट शासक बद्लियो,
शोषक बन्यो;
बारम्बार यसलाई नाङ्गो बनायो।
म त भन्छु,
पहाडकी रानी होइन यसलाई;
पहाडको राजा बनाउनु पर्थ्यो।
शोषकहरूले राजालाई बलत्कार गरेको,
म पनि हेर्थे।
शोषकहरूको पक्षमा कलम कोर्नेहरूले,
आफैमाथि बलात्कार भएका घटनाहरू;
अट्टाहासमा कसरी पोख्थे!
म पनि हेर्थे।
सुन साथी हो।
यो बुढी दार्जिलिङलाई,
पहाडकी रानी होइन ,
पहाडको राजा भएको घोषणा झट्पट् गर ।
मेरो पनि सुन है साथी हो।
” सत्यबास “गुड्डी रोड, दार्जिलिङ निवासी कवी किरण ठकुरी, अभिनेता- निर्देशक-नाटककार- गीतकार- निर्माता (नपाली नाटक अनि चलचित्र) हुनुहुन्छ ।