नेपाली नाटक : हिजो, आज र भोलि – प्रकाश सायमी

नाटक लेखन र मञ्चनको कला
नेपालमा नाटक र नाटक मञ्चन भन्ने वित्तिकै अभिनेता रत्नदास प्रकाशको नाम अगाडि आइ हाल्छ । रत्नदास प्रकाश , दमनराज तुलाधर जस्ता व्यक्तिले दरवारमा अभिनय प्रस्तुत गरेर ख्याति कमाएका थिए भने दमनराज तुलाधरले जुद्ध शमशेरको दरवारमा शेक्सपियर को नाटक प्रस्तुत गरेर साइलकको उपाधि नै पाएका थिए ।
मास्टर रत्नदास प्रकाश लाई नेपाली रंगमञ्चको कीर्ति स्तम्भ मानिन्छ , उनको समयकै वरपर नेपालमा नेपाली नाटक लेखेर मञ्चन गर्ने परम्परा शुरु भएको सत्य हो । उनले हिन्दी उर्दू र अँग्रेजी नाटकलाई नेपालीमा अनुवाद गरेर मञ्चन गर्न शुरु गरे पछि नेपालमा ( विशेषतः काठमान्डू उपत्यकामा ) नाटक मञ्चन र लेखनको विधिवत शुभारम्भ भएको देखिन्छ ।
रत्नदास प्रकाशले नाटक मञ्चन गरेको समय नै शुक्रराज जोशीको स्वर्गको द्धार को मञ्चनको तैयारी भएको सन्दर्भ देखिन्छ , यसै नाटकको एउटा गीतलाई संगीतकार भगतकृष्ण मानन्धरको संगीतमा गायिका मेलवादेवी मानन्धरले गाएर रेकर्ड गरेको आधारमा पुष्टि हुन्छ ।
यो विसं १९९० भन्दा अगिको कुरा भयो ।
१. सम कालीन नेपाली नाटक
विसं १९९० मा गोपालप्रसाद रिमालले नामाकरण गरिदिएको गौरीशंकर नाट्य समुदायले बालकृष्ण समका ऊ मरेकी छैन सिंहदरवारको नाचघरमा प्रस्तुत गरेको इतिहास पाइन्छ । यो मौलिक रुपमा नेपाली शैलीमा लेखिएको र त्यही अनुरुप प्रस्तुत गरिएको नाटक भन्ने बुझिन्छ । यस नाटकमा बालकृष्ण समका सहायक निर्देशक भएर गोपालप्रसाद रिमालले काम गरेका थिए भने यस नाटकमा नायिकाको भूमिका कलानाथ अधिकारी ( जो गायक पनि थिए ) गरेका थिए भने यसमा अर्को स्त्री पात्रको भूमिका शंकर लामिछानेले गरेका थिए । ( पृ. २४, विम्ब प्रतिविम्ब )
ऊ मरेकी छैन अगि बालकृष्ण समका अन्य नाटक मञ्चन भएका थिए तर ती सीमित दर्शकका सामू ।
बालकृष्ण सम भन्दा अगि नाटक लेख्ने नाटककारका रुपमा पहलमान सिंह स्वारको नाम नै देखिन्छ ।
पहलमान सिंह स्वार, शुक्रराज शास्त्रीका नाटक नेपालीमा लेखिनु र मञ्चन हुनु भन्दा अगाडि हाम्रो नेपाली नाटक प्रत्यक्ष रुपमा पारसी थिएटरबाट प्रभावित थियो भन्ने बुझिन्छ ।
पहलमान सिंह स्वारको पहिलो मौलिक नाटक अटलबहादुर प्रकाशित भएपछि यसलाई ठीक तीनवर्ष पछि विसं १९६९ मा भारतको गोर्खा न्याशनल थिएट्रीकल पार्टीले मञ्चन गरेको थियो ।
उत्तर बंगालको दार्जीलिँगमा धनवीर मुखिया र उनको टोलीले स्थापना गरेको गोर्खा न्याशनल थिएट्रीकल पार्टी नै पहिलो नेपाली नाट्य समूह भनेर साहित्यकार इन्द्रवहादुर राईले ठोकुवा गरेका छन् ।
स्थापनाकालको प्रथमावृत्ति मै नेपालीमा लिखित नाटक अटलबहादुर मञ्चन गरेको थियो जुन नाटक विसं १९६६ मा वाराणसीबाट प्रकाशित भएको थियो ।
अटलबहादुर वाहेक गो . न्या. थि. पार्टीले फ्रान्सेली नाटककार मोलिएरको नाटक मिजर मा आधारित कञ्जुसको धन पनि मञ्चन गरेको थियो । सन् १९१० मा मञ्चित कञ्जुसको धन नाटकबाट टिमोथी बेन्जामिन र कालू लामा निकै लोकप्रिय भएको कुरा राईले उल्लेख गरेका छन् । ( पृ १३८, द अक्सफोर्ड कम्पेनियन टू इन्डियन थिएटर )
द अक्सफोर्ड कम्पेनियन टू इन्डियन थिएटर का अनुसार गोर्खा न्याशनल थिएट्रीकल पार्टी सन् १९१२ मा बन्द भयो तर बन्द हुनुपूर्व यस संस्थाले गिरिश घोषको अबू हसन पनि मञ्चन गरेको थियो ।
गिरीषचन्द्र घोष बँगाली रंगमञ्चका अभिनेता , लेखक , निर्देशक र आयोजक थिए उनलाई बँगाली रंगमञ्चका पिता मानिन्छ । सन् १८४४ मा जन्मेका घोषका धेरै नाटक नेपालीमा अनुवाद नेपालका दरवारमा पनि मञ्चन भएका छन् ।
घोषबाट प्रभावित भएर धनवीर मुखिया पछि भैया सिंह गजमेर आए । सन् १८९८ मा जन्मेका मुखियाले नेपाली रंगमञ्चको विकासका निम्ति उत्तर बँगालमा हिमालयन चिल्ड्रेन एम्युजमेन्ट अशोसियसन खडा गरे ।
विसं १९७० मा स्थापित हिमालयन चि. ए. अशोसियन विसं १९९२ सम्म सक्रिय रह्यो । यसले आफ्नो उर्वरा कालामा बोतलवासिनी देवी , नल दमयन्ती, परशुराम, जवानीको धन्धा आँखाको अन्धा, प्रेमी बालक , उष हरण , स्वामीभक्ति आदि मञ्चन गरे ।
सत्तरी वर्षको उमेरमा दार्जीलिँगमै निधन भएका मुखियाका कुनै पनि नाटकको पाण्डुलिपि प्रकाशित छैनन् यसलाई लिपिवद्ध गर्ने काम अहिले दार्जीलिँगको गोर्खा निवारक संघले जिम्म लिएको छ ।
दार्जीलिँग र विशेषतः कलकत्ताको न्यू थिएटर्सका प्रस्तुतिबाट प्रभावित भएर नाटकमा समर्पित भएका बालकृष्ण सम यही समय नेपाली रंगमञ्चमा आएर । उनी बढी मात्रामा न्यू थिएटरका पृथ्वीराज कपूरको नाट्य उत्पादनबाट प्रभावित भएको कुरा उनका समकालीन भैरववहादुर थापा स्वीकार्छन् । कपूरले पछि भारतमा आफ्नै नाममा पृथ्वी थिएटर शुरु गरे जुन अझै पनि मुम्बईमा सक्रिय छ ।
नाटक लेखन र निर्देशनमा सम आफ्नो समयमा सबैभन्दा बढी सक्रिय र प्रतिवद्ध थिए । उनको समयमा नाटकमा अभिनय गर्ने
महिला पात्रको अभाव हुने कारणले नीरविक्रम प्यासी, दौलत विक्रम विष्ट, कलानाथ अधिकारी आदिले महिलाको वेशभूषामा मञ्चमा उत्रन्थे ।
उनका नाटकहरु विशेषतः त्यो समय लेखिएका आधुनिक नाटकमा पर्दथ्यो । उनका नाटक मुटूको व्यथा विक्रमाव्द चालीसको दशक सम्म पनि मञ्चन भएको इतिहास पाइन्छ ।
समकै समयमा हृदयचन्द्र सिंह प्रधानका नाटक पनि विद्यालयका कार्यक्रमहरुमा अनि सभा समारोहका निम्ति लेखिएर मञ्चन भएको यथातथ्य छ । नेपाली र नेवारी दुवै भाषामा कलम चल्ने प्रधानले शहीद गंगालाल श्रेष्ठको स्मृतिमा लेखेको नाटक गंगालालको चित्ता र समको भीमसेनको अन्त्य ऐतिहासिक विषयवस्तुमा त्यस समयका चर्चित नाटक मानिन्छन् ।
सम र प्रधान पछि गोपालप्रसाद रिमाल, विजय मल्ल , गोविन्द गोठालेले पनि नेपाली रंगमञ्चका निम्ति धेरै नाटक लेखे ।
रिमालका नाटकमा विशेषतः मसान, यो प्रेम चर्चित छन् भने विजय मल्लको बौलाहा काजीको सपना, कोही किन बर्बाद होस् आदि सदैव स्मरण योग्य छन् । गोठालेका नाटकमा च्यातिएको पर्दा र भूसको आगोले अलग्गै मापदण्ड राखेको पाइन्छ ।
मल्ल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव हुँदा सम्म नाटक लेखिरहे र उनको पछिल्लो नाटक स्मृतिको पर्खाल भित्र, भूलैभूलको यथार्थ अनि नेपालभाषामा मा लेखिएको नाटक किसी न्याइम्ह मदनमान .. आदि चालीस दशकको अन्त्य सम्म मञ्चन भएको इतिहास पाइन्छ ।
बालकृष्णका समकालीन नाटककारमा लक्ष्मीप्रसाद देवकोटाले पनि आफ्नै निर्देशनमा नाटक मञ्चन गरेको चर्चा पाइन्छ । जसमा गोपालप्रसाद रिमालका भाइ हरिप्रसाद रिमालले नायकको भूमिकामा अभिनय गरेको बताएका छन् ।

२. सातसाल पछिको नाटकको बद्लिँदो रुप
२००७ सालपछि नेपालमा राजनीतिक परिवर्तन आएपछि विविध शैलीका नाटकहरु नेपालमा लेखिए , मञ्चन भए ।
देशमा आएको राजनीतिक परिवर्तन पछि रेडियो नेपालको स्थापना भयो , रेडियो नेपालका निम्ति रेडियो नाटकहरु पनि विस्तारै लेखिन थाले ।
रेडियो नाटक लेखनमा तारिणीप्रसाद कोइराला, जनार्दन सम , श्यामदास वैष्णव , तुलसीनाथ ढुँगेल, युधीर थापा आदि सक्रिय भए ।
रेडियो र रंगमञ्च वाहेक राजनीतिक पार्टीबाट प्रभावित भएर नाटक लेख्ने जमात पनि देखिए । त्यसमा कवि दुर्गालाल श्रेष्ठ अग्रपंक्तिमा देखिए । श्रेष्ठले विसं २०१३ सालमा किसान नामक् नाटक लेखेर मञ्चन गरे यसै नाटकबाट गायक नारायणगोपालले अभिनेताको रुपमा मञ्चमा प्रवेश गरेका थिए ।
कवि गीतकारका रुपमा आफ्नो विशिष्ट पहिचान बनाएका श्रेष्ठले पछि सम्म नाटक लेखिरहे । उनको नाटक रामवहादुरको संसार नेपाली रंगमञ्चको एउटा यादगार प्रस्तुति मानिन्छ ।
श्रेष्ठका समकालीन फणीन्द्रराज खेताला, रमेश विकल, श्यामदास वैष्णव आदिले पनि मञ्चनका निम्ति नाटक लेखे ।
श्रेष्ठ आफैँ एक कुशल रंगकर्मी भएका कारणले आफूले पढाउने स्कुलका निम्ति पनि उनले धेरै नाटक लेखे ।
यही समय संगीत प्रधान नाटकका रुपमा लक्ष्मण लोहनीको पृथ्वीनारायण शाह एक चित्र र समको नाटक नालापानीको युद्ध पनि मञ्चन भए ।
सात सालको परिवर्तन पछि महेन्द्र संगीत निकेतन, नेपाल सांस्कृति केन्द्र आदिको स्थापना भएपनि नाटक केन्द्रित रुपमा नेपाल प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान नै सक्रिय देखिइए ।

३. पञ्चायतकालको चरम सेन्सर
विसं २०१७ मा पञ्चायती व्यवस्थाको स्थापना भएपछि तत्कालीन राजा महेन्द्रको रुचि अनुरुप गीत संगीतमा अत्यधिक विकास भयो , उनी स्वयम् पनि गीतकार भएका कारण उनकै पत्नीको नाममा रत्न रेकर्डिँग संस्थान स्थापना भयो तर नाटक र नाट्य विधाको निम्ति कुनै नयाँ पहल भएन बरु नाटक मञ्चन गर्न तत्कालीन अञ्चलाधीश कार्यालयमा पाण्डुलिपि बुझाएर सेन्सर गर्नु पर्ने अवस्था देखियो ।
अञ्चालाधीश कार्यालय अन्तर्गत मनोरञ्जन शाखाले अध्ययन गरेर छानवीन गरेपछि मात्र नाटक मञ्चन गर्न पाइन्थ्यो । कहिलेकाहिँ स्वीकृत भइसकेको नाटक पनि मञ्चमा प्रस्तुत हुँदा हुँदै रोका हुन सक्थ्यो ।
त्यसरी रोकिएको नाटकको इतिहासमा गण्डकी अञ्चलाधीश कार्यालयले रोका गरेको चेतन कार्कीको नाटक आत्मा बेचेको छैन पर्दछ । यो नाटक पछि विसं २०२३ मा लेखकको आफ्नै निर्देशनमा मञ्चन भएको थियो । यही समय कवि भूपी शेरचनको परिवर्तन पनि मञ्चन भएको थियो
अञ्चलाधीश कार्यालयले प्रकाशित भइसकेको नाटक पनि मञ्चन गर्नु अगि पाण्डुलिपि बुझाउन माग गथ्र्यो । प्रकाशित नाटक पनि मञ्चन हुन अयोग्य भएको इतिहास पञ्चायतकालमा देखिएको छ ।
पद्मरत्न तुलाधरको जागीरबाट खोसिएको मान्छे , रायनको सिम्मा , अनिल बर्वेको थैन्क्यू मिष्टर ग्ल्याड्, नीर शाहको इतिहासको कालो पाना, महको सूर्य ग्रहण त्यसमध्ये पर्दछ ।

पञ्चायतकालमा मल्ल बन्धुमा विजय मल्ल बढी सक्रिय भए , उनले धेरै नाटक लेखे र मञ्चन गरे । पहाड चिच्याइरहेछ , अन्धाको पनि आँखा खुलेको हुन्छ , कोही किन बर्बाद होस् यिनका त्यस समयका चर्चित नाटक हुन् । यसै समय प्रज्ञा प्रतिष्ठानले सत्यमोहन जोशीका नाटक जब घाम लाग्छ , फर्केर हेर्दा पनि मञ्चन गरे ।
मल्ल र जोशी वाहेक नेपाली नाटक लेखनमा गोपाल पराजुली र शिव अधिकारी पनि देखा परे । पराजुली र अधिकारीले लेखेका नाटकहरु प्रकाशन त भएका छन् तर मञ्चनका निम्ति ती कृति फलामे च्यूरा नै सावित भए ।

त्रासदी मुद्राहरु का लेख अधिकारीले पछिल्लो समय ( पचासको दशक मा ) तासको जामा नामक् नाटक लेखेर प्रज्ञा प्रतिष्ठानमा हरिहर शर्माको निर्देशनमा मञ्चन गरे । यसपछि शिव अधिकारीका कुनै नाटक मञ्चन भएको इतिहास छैन ।

अधिकारी र पराजुलीका नाटक मञ्चनका निम्ति कठीन भएपनि अर्का दुई साहित्यकार अशेष मल्ल र सरुभक्त दुवै रंगमञ्चसित आवद्ध भएका कारणले नाटक लेखन र निर्देशनमा सक्रिय देखिए र यिनका कामले सफलताको स्वाद पनि दिलाए । अशेष मल्लको नाटकहरुको नाटक, हामी बसन्त खोजिरहेछौँ , अतिरिक्त आकाश सफल मानिन्छन् भने सरुभक्तका नाटक युद्ध ः उही ग्यास च्याम्बर भित्र , एउटा घरको कथा हैन , कोलाज, तान्डव नृत्य र अजम्बरी भ्वाइलेन पनि चर्चामा रहे ।
यी दुवै नाटककारहरु आफैँ पनि अभिनय गर्ने हुनाले यिनको नाटकको सार्थकता भव्य रह्यो । तर यिनका अग्रज साहित्यकार डा ध्रुवचन्द्र गौतमका नाटक भष्मासुरको नलीहाड र त्यो एउटा कुरा मञ्चन भएका छन् ।

विसं २०३६ सालमा पाकिस्तानका पूर्वप्रधामन्त्री जुल्फिकर अलि भुट्टोको फाँसी पछि पाकिस्तानका शासक जियाउल हकको विरोध गर्दै नेपालमा विद्यार्थी आन्दोलन शुरु भयो । यो आन्दोलनले राजनीतिक रुपमा देशलाई जनमत संग्रहको संघार सम्म पुर्यायो तर यो आन्दोलनको प्रभावले कवि लेखक आफ्नो कविता र आवाज बोकर सडकमा ओर्लिए, जसलाई सडक कविता क्रान्तिको नाम दिइयो ।

सडक कविता क्रान्ति सँगै विस्तारै सडकमा नाटक पनि गर्न थालियो र सडक नाटकको अवधारणा शुरु भयो । सडक नाटकलाई बँगाली शैलीको नुक्कड नाटकबाट प्रभावित भनिएतापनि यो नेवारी शैलीको दबू प्याखँः ( डबली नाटक) को धेरै नजीक देखिन्थ्यो ।
सडक नाटकमा अशेष मल्ल, किशोर पहाडी , सुनील पोखरेल, सपना प्रधान, रेणु केसी आदि देखिए तर यसलाई पछि सम्म अशेष मल्ल र सर्वनामले निरन्तरता दिएको पाइन्छ ।

भारतमा बीज नाटक, सूत्र नाटकको प्रयोग चलिरहेको वेला भारतकै कोलकत्तामा बादल सरकार नुक्कड नाटकमा सक्रिय थिए , भारतको प्रमुख शहर दिल्लीमा सफदर हाशमी पनि नुक्कड नाटकबाट प्रभावित भएर ‘हल्ला बोल’ मञ्चन गरिरहेका थिए ।

हामी कहाँ सडक नाटक अञ्चलाधीश कार्यालयको स्वीकृति विना त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको प्रांगणमा , भृकुटी मण्डप मा देखियो ।
नाटक लेखकका रुपमा ढिलो गरी आएपनि साहित्यकार मोहनराज शर्माले आफ्नै तीनै नाटक ‘जेमन्त, ‘यमा र ‘वैकुन्ठ एक्सप्रेस’ मा ख्याति कमाए । उनका सबै नाटकलाई मञ्चन गर्ने सौभाग्य जेनाप परिवारलाई मिल्यो भने यी सबै नाटक अभिनेता रवीन्द्र खड्काले निर्देशन गर्ने मौका पाए ।
मोहनराज शर्माको नाटक जेमन्त को सफल मञ्चन पश्चात् उनकै नाटकको नामबाट जेनाप अर्थात् जेमन्त नाट्य परिवार स्थापना भएको हो ।
शर्माका समकालीन वासु शशीका नाटक सबथोक गर्नुपर्छ, बाँसुरीमा नअटाएका धुनहरु , इरा पनि मञ्चन भए । नेपाली र नेवारी दुवैभाषामा नाटक लेखेका शशीले नेपालमा अँग्रेजी नाटककार आर्थर मिलरको नाटक मञ्चन गर्नमा सुलभ वातावरण पनि बनाए ।

मोहनराज शर्मा , अशेष मल्ल, सरुभक्त नाटक लेखनमा आउनु भन्दा अगाडि नाटक लेखेर र निर्देशन गरेर चर्चामा आएका थिए, मनवहादुर मुखिया ।
सेन्सरको चपेटामा परेको नीर शाह लिखित नाटक इतिहासको कालो पाना धेरै समय पछि प्रचण्ड मल्लले निर्देशन गर्ने भएका थिए भने यही सयम रायन लिखित गीति नाटक ‘सिम्मा’ पनि सेन्सरको कारणले प्रदर्शनमा रोक लगाइएको थियो भने अशेष मल्ल लिखित मुर्दाबादमा उठेका आवाजहरु पनि प्रदर्शन भएपछि रोएिको थियो ।
रंगनिर्देशक प्रचण्ड मल्लले सत्यमोहन जोशीका र विजय मल्लका केही नाटक प्रज्ञाको मञ्चमा प्रस्तुत गरेका थिए ।
अन्य नाट्यकर्मीमा भीमनिधि तिवारी , श्यामदास वैष्णव , लक्ष्मण लोहनी , हिमालय लोहनी, मनहरि भण्डारी , मुुकुन्दकिशोर भट्टराई आदिका नाटक पनि मञ्चन भएका थिए , पञ्चायती शासनकालको जटिल समयमा ।

४ रंगमञ्चमा दार्जीलिँगको नाटक
नेपालको नाटक विधालाई शुरु देखि नै सबैभन्दा प्रभाव पारेको दार्जीलिँगले नै हो भन्नुपर्छ । विसं २००७ सालमा रञ्जीत घिसिँगको निर्देशनमा नवीन वर्देवाको संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन मञ्चन भएपछि यसलाई फेरि कमुदिनी होम्स् कालिम्पोंगले विसं २०२१ तिर मञ्चन गर्यो ।
दार्जीलिँगमा मुनामदन को मञ्चन भएपछि नेपालमा पनि यसको प्रभाव वा मञ्चनको असर देखियो ।
मुनामदन पछि दार्जीलिँगको नाटक अनि देवराली रुन्छ ले नेपालमा ठूलो प्रभाव पार्यो ।

मनवहादुर मुखियाद्धारा लिखित निर्देशित अनि देवराली रुन्छ भारतको दार्जीलिँगमा सन् १९७२ सेप्टेम्बर महिनामा गोरखा दुःख निवारक संघमा पहिलो प्रदर्शन भएपछि यसले कलकत्तामा अर्को सफल मञ्चन गने मौका पायो यस पश्चात काठमान्डूमा यसको भव्य प्रदर्शन भयो ।
अनि देवराली रुन्छ पछि काठमान्डू टार्गेट गरेर प्रताप सुब्बाको नाटक रातको प्रथम प्रहर काठमान्डू आयो ।
नाटक लेखनमा मनवहादुर मुखिया पछि उनीसित रंगकर्म गरेका अर्का रंगकर्मी पी. अर्जुनले नेपाली रंगकर्मका निम्ति धेरै नाटक लेखे , उनका केही नाटक काठमान्डूको सांस्कृतिक संस्थानमा मञ्चन पनि भए जसमध्ये हाँस्दै जल्नु पर्छ एक हो ।

नाटक लेखनमा पी अर्जुनको अतुलनीय योगदान छ । पी अर्जुन वाहेक दार्जीलिँगमा नाटक लेख्ने अन्य लेखकमा किरण ठकुरी , सीके श्रेष्ठ, मोहन पुकार , नन्द हाँगखिम , टेम्बो लेप्चा , किरण ठकुरी , पिटर चेँग, नर्देन रुम्बा, राजु प्रधान हिमांशु आदिको नाम अगाडि आउँछ ।
दार्जीलिगमा सन् १९८० देखि नाटक मञ्चन गराइरहेका हिमांशुले ‘अन्वेषण’ , ‘मुखुण्डो लगाएको मन’ , ‘ओम शान्ति’ , ‘अवसान’ , ‘शान्ति दर्शन’ लोकप्रिय छन् भने उनका अग्रज सीक श्रेष्ठको अनि भाले मुँग्रो बास्छ , मुगल साम्राज्यमा एकदिन पनि दार्जीलिँगका लोकप्रिय नाटक मध्ये एक हुन् । जस योञ्जन प्यासी को ‘मूर्तिको फुटेको मन्दिर’ पनि सांगीतिक रुपमा सफल नाटक मानिन्छ ।
दार्जीलिँगमा जस्तै खरसाँगमा टंक शर्मा , लक्ष्मण श्रीमल , पूर्ण गुरुँग निरुपण , समीर पाख्रीन, वालकृष्ण थामी , किशोर थापा आदि सक्रिय नाट्यकर्मी रहे ।

५. रंगमञ्चमा गीति नाटक
नेपाली रंगमञ्चमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना-मदन’ लाई भारत पछि नेपालमा मञ्च गर्ने क्रममा सांस्कृतिक संस्थानको योगदान अतुलनीय छ ।
सांस्कृतिक संस्थानले भन्दा पहिला कोकिल गुरुँगले आफ्नै निर्देशनमा अम्बर गुरुँगको संगीतमा मुनामदन काठमान्डू र पोखरामा मञ्चन गरिसकेका थिए ।
पछि मुनामदनलाई चन्द्रराज शर्माको संगीतमा सांस्कृतिक संस्थाले प्रस्तुत गर्यो । ‘मुना-मदन’ को सफल मञ्चन पछि प्रज्ञा प्रतिष्ठानले बसन्त श्रेष्ठको निर्देशनमा माधव घिमिरेको गीति नाटक शकुन्तला प्रस्तुत गर्यो । यसपछि रायन द्धारा लिखित निर्देशित सिम्मा गीति नाटक अपार सफलतापूर्वक मञ्चन भयो ।
सिम्मा को सफलतासँगै प्रज्ञा प्रतिष्ठानले माधव घिमिरेलिखित ‘मालत मँगले’ संगीतकार अम्बर गुरुँगको संगीत र बसन्त श्रेष्ठको निर्देशनमा प्रस्तुत गर्यो ।
गीति नाटक मञ्चन गर्ने क्रममा पचासको दशमा सांस्कृतिक संस्थानले देवकोटाको ‘कुञ्जिनी’ चन्द्रराज शर्माको संगीत निर्देशनमा प्रस्तुत गर्यो ।
६. नाट्य संघ संस्था
पञ्चायती व्यवस्था भएको समय अञ्चलाधीश कार्यालय, दरवार र दरवारका आसेपासेका कारण वाक् स्वतन्त्रता नभए पनि जनजनमा अभिव्यक्तिको माध्य नाटक र प्रहशन नै थियो र यस समय झन् धेरै नाट्या समूह र नाट्यकर्मीहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा रंगकर्मसित आवद्ध थिए ।
देशमा पञ्चायती व्यवस्था लागू भएको पाँचवर्षपछि विभिन्न नामका सांगीतिक समूह स्थापना भए त्यसमध्ये नवकला कुञ्ज, राल्फाली, लेकाली समूह केही सुपरिचित नाम भए तर पछि नाटक मञ्चन गर्ने उद्देश्यले काठमान्डू , पोखरा , विराटनगर , इलाममा विभिन्न नाट्य समूह आवद्ध भए ।
विसं २०२५ सालदेखि २०४६ साल सम्म नेपाली रंगमञ्चका धेरै थरिका नाट्य समूह स्थापित भएको थियो । यस वेला पूर्वाञ्चलको विराटनगरमा भानु कला केन्द्र , पश्चिमाञ्चलको पोखरामा पोखरेली युवा सांस्कृतिक परिवार अनि विशेषतः काठमान्डू केन्द्रित नाट्य समूहमा जेमन्त , सर्वनाम, श्री समूह , रंगकर्मी जमात, रंगस्रष्टा , यूनाइटेड आर्टिस्ट, आरोहण, अड ग्रुप आदि देखा परे ।
श्री समूहले आफ्ना व्यावसायिक नाटक बन्दिनुस्नत, भोजन भट्ट , अँध्यारो उज्यालो मार्फत् आफूलाई सक्रिय राखे भने जेनापले मोहनराज शर्माका नाटक वाहेक पछि चुइँया नामक् नाटक पनि प्रस्तुत गरे ।

रंगमञ्चमा प्रयोगात्मक धार अपनाएर प्रस्तुत भएको सर्वनामले अशेष मल्लद्धारा लिखित नाटक धेरै प्रस्तुत गरे भने रंगकर्मी जमातले भारतका प्रसिद्ध लेखक विजय तेन्डुलकर, सुशीलकुमार सिंहका नाटक नेपालीमा अनुवाद गरेर प्रस्तुत गरे ।

यूनाइटेड आर्टिस्टले प्रकाश सायमीको लेखन निर्देशनमा बन्धित आकाश, जिन्दगी र जिजीविषा , … र विपिन , ब्रश, इजल र क्यानभास प्रस्तुत गरे ।
अड ग्रुप ( ओर्जिनल ड्रामा डेभल्भेन्ट ग्रुप) ले प्रचण्ड मल्लको निर्देशनमा सुमन खरेल लिखित आघात लाई व्यावसायिक प्रदर्शनमा ल्याए ।
सर्वनामले जस्तै आरोहण समूहले पनि बद्री अधिकारीको सक्रियतामा प्रतिभा आकाश माग्छे , मूल सडककी आमा आदि प्रस्तुत गरे । आरोहण समूहले पछि ( विशेषतः चालीसको दशकपछि ) सुनील पोखरेलको परिकल्पनामा आरोहण शनिवार शुरु गरेपछि फ्रान्सेली सांस्कृतिक परिवारसित मिलेर अल्जेरियन लेखक आल्वेयर क्यामूको आउटसाइडर, फ्रान्सेली लेखक सात्र्रको मैन विदाउट स्याडोज् , मोहन राकेशको हिन्दी नाटक असारको एक दिन , मोलिएरको तारतूफ आदि प्रस्तुत गरे ।
कोलकत्ताको प्रतिभा अग्रवालको रंग शनिवारसित प्रभावित भएर शुरु गरिएको आरोहण शनिवार धेरै लामो चल्न सकेन अन्ततः आरोहण विस्तारै अभिनय प्रशिक्षण केन्द्रमा परिणत भयो । र, पछि आरोहणकै समूहको सक्रियतामा पचासको दशकमा गुरुकुल को स्थापना गरियो ।

चालीसको दशकमै नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रवन्धक भएपछि त्यहाँ मनवहादुर मुखियाको क्रशमा टाँगिएको जिन्दगी प्रस्तुत भयो जुन नाटक व्यावसायिक रुपमा अत्यन्त सफल भयो । नेपाली रंगमञ्चका कीर्ति स्तम्भ हरिप्रसाद रिमालद्धारा निर्देशित सो नाटकमा पहिलो पटक दुई हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सँगै मञ्चमा आएका थिए भने महेश थापा, सुषमा शाही , गौतमरत्न तुलाधर , लोकमणी सापकोटा , अशोक केसी , दीपा न्यौपाने आदि मञ्चमा आएका थिए ।

सांस्कृतिक संस्थानले यसवाहेक गोपालप्रसाद रिमालको मसना, वासु शशीको सबथोक गर्नुपर्छ , पी अर्जुनको हाँस्दै जल्नु पर्छ , महेश थापा लिखित कुहिरो भित्र अल्मलिँदा , गणेश रसिकको के सक्कली के नक्कली , सुवास गजुरेलको दुई बाबुको एक्ली छोरी आदि पनि मञ्चन गरे ।

६ नाट्य प्रतियोगिता , प्रतिस्पर्धा र प्रशिक्षण
पञ्चायती शासनकालकै समयमा पनि नेपालमा धेरै नाट्य प्रतियोगिता र महोत्सवको शुरुवात भव्य रुपमा भयो । हरेक नववर्षको आगमनसँगै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रीय नाटक महोत्सवका निम्ति हरेक देशका विभिन्न भूभागबाट नाट्यकर्मी अनि नाटककारहरु देखा पर्थे । यही नाटक महोत्सवबाट मीना श्रेष्ठ, रमेश बुढाथोकी, दीपक छेत्री, रवीन्द्र खड्का , सन्तोष पोखरेल, राजु सिलवाल , लेखनाथ सापकोटा ( सम्राट सापकोटा ) , शबनम बज्राचार्य , शर्मीला शाही , शोभा सिंह , प्रद्युम्न चालिसे आदि देखा परे । यही महोत्सवबाट नाटककारका रुपमा उपेन्द्र दुःखी, मनहरि भण्डारी, अशेष मल्ल, सरुभक्त , दीपक आलोक , प्रकाश सायमी , बद्रि अधिकारी , शमा श्रेष्ठ, मोहन निरौला , अविनाश श्रेष्ठ, रमेश केसी, नवनि सुब्बा आदि देखा परे ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले नाटक महोत्सव वाहेक सावन भदौको महिनामा गाईजात्रा महोत्सवको आयोजना जुन प्रतिस्पर्धाबाट हास्यकलाकार राजपाल थापा, आनन्द थापा, गोपालराज मैनाली, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त , हरिवंश आचार्य , परीक्षित ढुँगाना , रमेश केसी , शैलेन्द्र सिंखडा आदि हास्य कलाकारका रुपमा चर्चामा आए ।

प्रज्ञा प्रतिष्ठानले रंगमञ्चको विकासलाई ध्यानमा राखेर तीसको दशको पूर्वाद्धमा एकवर्षे कलाकार तालीम शुरु गर्यो यस तालीमले पनि धेरै कलाकार जन्मायो ।
प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाट्य महोत्सव जस्तै गोदावारी एलुम्नाई अशोसियसनले शुरु गरेको ह्याम्स् शिल्ड कम्पिटीशनबाट धेरै राम्रा नाटक कलाकार र लेखक प्रकट भए । अँग्रेजी र नेपाली दुवै प्रकारको नाटक प्रतिस्पर्धी हुने यस महोत्सवबाट रामवहादुरको संसार नाटकबाट हरिहर शर्मा , अशेष मल्ल, किशोर पहाडी , सूर्यमाला शर्मा , दीपक छेत्री जस्ता कलाकारहरु पुरस्कृत भएका थिए भने यही महोत्सवले काठमान्डूमा अँग्रेजी नाटक मञ्चनको वातावरण शुरु गर्यो । सविना लेमन, मेरी इभान्स, अशोक भट्टचन, ज्योतिमान शेरचन आदिले अँग्रेजी नाटकमा निम्ति माहौल बनाए ।
चालीसकै दशकमा युवा नाटक महोत्सव सरकारी पहलमा भृकुटी मण्डपमा शुरु गर्यो ।

प्रज्ञा प्रतिष्ठानले अभिनय प्रशिक्षण दिए जस्तै नेपाल थिएटर र आरोहण समूहले पनि यसलाई निरन्तरता दियो तरे थिएटर वर्कशप २०४४ सालमा धरानको अनाम नाट्य समूहले आयोजना गर्यो । अनामले आयोजना गरेको नेपालमा सम्पन्न भएको पहिलो थिएटर वर्कशपमा पूर्वाञ्चलका धेरै रंगकर्मी सहभागी भएका थिए जसमध्ये शारदा शाक्य, शोभा सुब्बा, शशी थापा सुब्बा, राजेन्द्र रिमाल , सन्तोष थेवे , एसटी कल्याणकारी , राज थापा, प्रेम सुब्बा, मदन गुप्ता आदि सहभागी भएका थिए भने यही थिएटर वर्कशपको पहिलो प्रस्तुति निजी आँखाहरु पनि त्यहाँ मञ्चन गरिएको थियो ।

चालीसको अन्त्यतिर देखा परेको पोखराको प्रतिविम्ब नाट्य समूह र काठमान्डूको नवप्रतिभा नाट्यशालाले पनि पछि सम्म थिएटर वर्क शप र नाटक गरिरह्यो ।
पछिल्लो समय नेपाली नाटकको दुर्दशा बढ्दै गएपछि आरोहण समूह, गरिमा ( मासिक) र डबली मिलेर विसं २०५६ पौष ९ देखि ११ गते सम्म काठमान्डूमा थिएटर वर्कशप सम्पन्न भएको थियो , यसका आयोजन सहयोगीमा नेराप्रप्र, सांस्कृतिक संस्थान, लूनकरण दास गंगादेवी चौधरी साहित्य कला मन्दिर , बेन्टले र स्टुडिओ सेवेनका शम्भुकुमार लामा थिए ।

७ नाटकमा अनुवादको लहर
नेपाली रंगमञ्चको परिशिष्टमा जर्मनेली नाटककार बर्टोल्ट ब्रेख्तको नाटक अब बाँकी नै के छ र ? विसं २०३९ सालमा रुद्रराज पाण्डे र सिद्धान्तराम जोशीको सक्रियतामा कोमल चित्रकारको अनुवादमा गोयथे इन्स्टिच्यूटमा मञ्चन गरिएको थियो , नेपालमा ब्रेख्त मञ्चन भएको यो पहिलो इतिहास थियो यसको ठीक सत्रवर्ष पछि आरोहण समूहले काठमान्डूको डबलीमा सेँचुआको असल मान्छे मञ्चन गर्यो ।

रंगकर्मी जमातको पहलमा मुकुन्द श्रेष्ठ, जयन्त पौड्यालले हिन्दी भाषी सुशीलकुमार सिंह, विजय तेन्डुलकर, बादल सरकारका नाटक अनुवाद गरेर प्रस्तुत गरिएका थिए भने मराठी उपन्यास थैँन्क्यू मिष्टर ग्ल्याड लाई नेपालीमा प्रकाश सायमीको अनुवादमा उसको कवितामा अब को रुँदैन मञ्चन रमेश बुढाथोकीले मञ्चन गरेका थिए । बुढाथोकीले यसवाहेक आर्थर मिलर, शेक्सपियरका नाटक पनि अनुवाद गरेर प्रस्तुत गरेका थिए ।
मुद्रा राक्षसको हिन्दी नाटक गुफाहरु लाई नयनराज पाण्डेले अनुवाद गरेर मञ्चन गरेका थिए ।
नाटक निर्देशक विजय विष्फोटले पनि गिरीश कर्नाड, विजय तेन्डुलकर , अनिल बर्वेका नाटक नेपालीमा रुपान्तरण गरेर मञ्चन गरेका छन् ।
मन्नू भण्डारीको हिन्दी नाटक महाभोज, स्वदेश दीपकको कोर्ट मार्शल पनि नेपालीमा अनुवाद भएर प्रस्तुत भएका छन् ।

८. नाटक लेखनमा निष्क्रियता
मञ्चनका लागि नाटक लेख्ने एक सक्रिय पुस्ता तीस र चालीसको दशकमा तयार भएको देखियो जसमा मनवहादुर मुखिया , वासु शशी, सरुभक्त , अशेष मल्ल, मनहरि खड्का, प्रकाश सायमी , दीपक आलोक , बद्री अधिकारी , मोहन निरौला , अविनाश श्रेष्ठ देखियो भने पचासको दशकपछि यो पुस्ता पूरा सेलायो । यसपछि नाटक लेखनमा अनुवादको जोड चल्यो ।
पचासको अन्त्यतिर गुरुकुलको स्थापना भएपछि त्यहाँबाट अभि सुवेदी एक्ला नाटककार देखिए जो नाट्य लेखनमा सक्रिय भए । सुवेदीका केही नाटकलाई सुनील पोखरेल र शिव रिजालले मञ्चन गरे तर मौलिक नाटक लेखनको एक पुस्ता यसवेला शिथिल भइसकेको थियो ।
अनाम जमातका निम्ति नाटक लेख्ने रमेश केसी पुरै निष्क्रिय रहे भने शारदा सुब्बाले केही नाटकमा आफ्नो उपस्थिति देखाइन् ।
पुरु लम्साल, टंक चौँलागाइँ, कृष्ण शाह यात्री, विप्लव ढकाल, कुमार नगरकोटी आदिले नाटक लेखनमा केही सार्थक सम्भावना दिए पनि नाट्य लेखनमा पहिला जस्तो हरियोपन देख्न सकिएन ।

७ बर्तमान नाटकको अवस्था
चालीसको दशकको अन्त्य पछि नेपाली नाट्यकर्ममा देखा परेका अनुप बराल, विजय विष्फोट, पुरु लम्साल, टंक चौलागाइँ, विष्णु नेम्वाँग, डीबी किराँती , कृष्ण शाह यात्री, राम केसी , टीकाभक्त जिरेल, अशोक थापा , घिमिरे युवराज , गणेश गौतम आदिको भूमिका अझै महत्वपूर्ण छ ।
अहिले नेपाली रंगमञ्चमा प्रज्ञा प्रतिस्ठानको निष्क्रियता एकातिर देखिन्छ भने सांस्कृतिक संस्थानमा राजनीतिक नियुक्ति र चलखेलले नाटक कम राजनीतिक नाटक बढी भइरहेको देखिन्छ तर पनि यस विषादपूर्ण अवस्थामा पनि मण्डला थिएटर, शिल्पी थिएटर , एक्टर्स स्टूडिओ अलि बढी सक्रिय देखिन्छ ।
त्यस वाहेक नेपालमा वर्षेनी हुने गरेका नाट्य महोत्सव र एकाँकी प्रतियोगिता अहिले न प्रज्ञा प्रतिष्ठानले आयोजना गर्छ न गोदावरी एलुम्नाई एशोसियसनले आयोजना गर्दछ ?

नागरिक उड्ड्यन मन्त्रालयले आयोजना गर्ने युवा नाट्य महोत्सव जस्ता प्रतियोगिताहरु नुहुनुका कारणले मौलिक नाटक लेखनको अवस्था कमजोर हुँदै गएको सत्य स्वीकार्नै पर्छ । त्यस्ता महोत्सवहरुले पहिले मैथिली रंगमञ्चका हस्ति महेन्द्र मलंगिया , राजेन्द्र विमल जस्ता नाटककार दिएको थियो भने सुनील मिश्रा, मदन ठाकुर , रमेश रञ्जन झा, रामनारायण चूहाजस्ता कलाकार पनि दिएका थिए । अब विडम्बना के भयो भने नाटक किन हुन्छ र केका लागि हुन्छ भन्ने प्रश्न एकातिर छ भने नाटक मञ्चन गर्ने संघ संस्था पनि सानो हलमा खुम्चिएर गए जस्तै सानै परिवारमा सीमित हुनुको कारणले नाटक आमजनतामा नगएर नाट्य समीक्षक र पत्रकारका निम्ति मात्र देखाइने हो कि भन्ने तर्कातीत हुँदै गएको छ ।

यस परिस्थितिमा नाटक गरुन् , नाटक लेखुन् , नाटक हेरुन् भन्ने नाराका साथ अब आउँदो पुस्ता अघि बढ्नुपर्छ ।
( मधुपर्क ः वर्ष ५३ ः अंक १० ः पूर्णांक ६१९ मा प्रकाशित )
चैत २०७७



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv