त्यसो भए जाने होइन त ॐ पार्क …? (भिडियो सहित)
काठमाण्डौ,माघ ३ । ओम् पार्क’ सिन्धुपाल्चोक जिल्लाको सांस्कृतिक सम्पदा र ऐतिहासिक पौराणिक स्थल हो । यहाँ धनलक्ष्मी माताको गुफा पनि रहेको छ । विश्वकै अग्लो ॐ स्तुपा र योग ध्यान केन्द्रको स्थापना गर्ने योजना रहेको उक्त क्षेत्र ९९ सय रोपनी क्षेत्रफलमा फैलिएको अतिनै रमणिय स्थलको उचाइ २५०० मिटर रहेको छ ।
पर्यटन प्रवर्दनका लागि सम्भावना बोकेको यस क्षेत्रलाई बृहत गुरुयोजना अन्तर्गत भृकुटी श्रङ चङगम्पो विवाह डोली मार्ग,भैरवकुण्ड पदमार्ग,तेर्से छहरा,साइकल यात्रा र पदमार्ग,रात्रीकालिन खगोलीय अध्ययन अनुसन्धान तथा दृश्यावलोकनका लागि तयारी गरिँदैछ ।
यस क्षेत्रबाट उत्तरतर्फ नेपालका गणेश हिमाल,जुगल हिमाल,गौरिशंकर हिमाल,सगरमाथाको पश्चिमी भाग देख्न सकिन्छ । सुर्यउदय र सुर्यास्तको मनोरम दृश्यावलोकनका साथै तिब्बतको खासा बजार,कालिन्चोक माताको मन्दिर क्षेत्र,दोलखा जिल्लाको पहाडी भागको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै पश्चिम तर्फ,जलबिरे बजार,चौतारा बजार,धुलिखेल क्षेत्रका सुन्दर दृश्य देख्न सकिन्छ ।
काठमाण्डौ देखी ९३ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा हाल दुईवटा बाटो भएर जान सकिन्छ । पहिलो, अरनिको हाइवेको कोठे हुँदै-धुस्कोट-ओख्रेनीको बाटो ओम् पार्क पुग्न सकिन्छ भने दोस्रो बार्हबिसे हुँदै-थगाम-घलंसाको बाटो ओम् पार्क पुग्न सकिन्छ ।
जाडो मौसममा कहिलेकाँही हिउँले ढपक्कै ढाकिने गर्दछ र उचाइमा भएकोले चाँडै घाम लाग्ने,हुस्सु कुहिरोको रमाईलो दृश्यका साथै खुल्ला चौरमा आनन्द लिन सकिन्छ ।