मन्त्री अथक स्वदेश फिर्ता, भ्रमण उपलब्धिमुलक भएको प्रतिक्रिया
काठमाण्डौं,असार ३ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा जानुभएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्कनुभएको हो ।
स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिनुभएको छ । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्री अथकले बताउनुभयो । रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारीक भ्रमण गर्नुभएका मन्त्री अथक र भासिलिभिच बिच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नकालागि छात्रवृत्ति सहयोग लगाएत विषयमा छलफल भएको थियो । छलफल पश्चात “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुई पक्षिय सहमती समेत भएको उहाँले जनाउनुभएको छ ।
रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरुसँग समेत भेटघाट गर्नुभएको थियो । नेपालमा लगानिको वातावरण बन्दै गईरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको मन्त्री अथकले बताउनुभयो ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारीक भ्रमणकालागि गत सोमबार रुस प्रस्थान गर्नुभएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्कनुभएको हो ।