राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन
काठमाडौं, साउन ४ गते । नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले विभिन्न १२ विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो । विषयगत उपसमितिका संयोजक र सचिव पनि तोकिएको छ ।
बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसन्धान उपसमिति चाँडै गठन गरिने बैठकको निर्णय सार्वजनिक गर्न बुधबारै आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव घिसिङले जानकारी गराए ।
समारोह उपसमितिको संयोजकमा राखेपका सदस्य एकेन्द्र कुँवर र सचिवमा प्रशासकीय अधिकृत शारङ्गिन् निरौला, प्राविधिक उपसमितिको संयोजकमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल र सचिवमा नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य राजेश गुरुङ र सचिवमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा र सचिवमा कानून शाखाका प्रमुख नारायणराज अर्याल तथा स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा र सचिवमा ज्ञानेन्द्रविक्रम शाह रहेका छन् ।
त्यस्तै यातायात व्यवस्था उपसमितिको संयोजकमा राखेपका सदस्य प्रकाश कुसारी र सचिवमा पौडी शाखाका प्रमुख देवराज कटुवाल, प्रचार प्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट र सचिवमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुसराज दाहाल, खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य अन्जन धमला र सचिवमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, श्रोत परिचालन उपसमितिको संयोजकमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा राखेपका सदस्य जनक बर्तौला र सचिवमा प्रशासकीय अधिकृत लिलाराम बस्नेत तथा एन्टी डोपिङ उपसमितिको संयोजकमा डा. नमिसमान प्रधान र सचिवमा प्रशासकीय अधिकृत दोबे तामाङ छन् ।
यो पनि पढ्नुहोस् :-
सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै
थाइल्यान्डको बैंककमा हुने ३५ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका छन् । बाँकी एक पुरुष खेलाडी क्षितिजकुमार धामीले प्रशिक्षकको पनि भूमिका निर्वाह गर्ने छन् । महिलामा सुमित्रा डंगोल, उषा महर्जन, सोममाया थापा मगर, चन्द्रा चौधरी र इनु चौधरी छन् ।
टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा लोकमणि आत्रेय, अर्को प्रशिक्षकमा सीता सुवेदी, निर्णायकमा मेघराज तोलङ्की, अफिसियलमा ध्रुवबहादुर गुरुङ र आईटीओ÷अफिसियलमा नेसिर मास्के छन् । प्रतियोगिता साउन ८ देखि १५ गते (जुलाई २४–३१) सम्म हुने छ ।
सदस्य–सचिव र कतार राजदूतबीच भेट
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ । भेट वार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो ।
भेटका अवसरमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहाँ पाउँदा खुशी लागेको बताउदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा नेपालस्थित दूतावाससंग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताए ।
राजदूत युसुफले सदस्य–सचिव घिसिङको शुभेक्छा प्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि जि टु जि मार्फत प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत युसुफले मायाको चिनो स्वरुप सदस्य–सचिव घिसिङलाई फुटबल उपहार दिएका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति थियो ।