जुडो टोली फर्कियो

काठमाडौं, साउन ६ गते । थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भइ नेपाली जुडो टोली स्वदेश फर्किएको छ ।
साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए । त्यसपछि उनी काजाकिस्तान र ताइपेईंका खेलाडीसंग पराजित भए ।

महिला ४८ केजीमुनि निशा श्रेष्ठ पदकनजिक पुगेकी थिइन् । रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसंग चुकिन् । त्यो भिडन्त जितेका भए निशाको कांस्य पदक पक्का हुने नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायाण श्रेष्ठले जनाएका छन् । रिपाचेजअघि निशा उज्वेकिस्तानकी खेलाडीसंग पछि परेकी थिइन् ।

जुनियरको पुरुष ६० केजीमुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गरिन् । सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसंग पराजय व्यहोरे पनि रिपाचेजमा पुनः अवसर पाइन् । कांस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसंग चुकिन् । देवकी र निशा दिदीबहिनी हुन् । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

विश्व तेक्वान्दोमा अशोक निर्णायक
विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्दै छन् ।

प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि हुनेछ । कोर्समा पनि अशोक सहभागी हुने छन् ।
निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले जानकारी गराए । उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने अशोक एक्लो हुन् ।

बैशाख एता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv