राष्ट्रिय उमा कुङफु भदौ अन्तिम सातामा हुने

काठमाडौं, साउन ८ । नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ ।
आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।

सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । सान्डाको पुरुषमा १० र महिलामा ८ गरी १८ स्पर्धा समावेश छन् । प्याटर्नको पुरुष÷महिलामा ४–४ गरी ८ स्पर्धामा खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

बैठकले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति र २ उपसमिति पनि गठन गर्ने निर्णण पनि गरेको छ । ९ सदस्यीय मूल आयोजक समितिमा संघका सचिव महेश महर्जनलाई संयोजक र संघका पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
आर्थिक उपसमितिको संयोजकमा राजदीश नेम्कुल, सह–संयोजकमा अशोक केसी र सदस्यमा जीवन गुरुङ रहेका छन् । प्रचार प्रसार तथा प्राविधिक उपसमितिमा संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई संयोजक तथा गोपाल थापा, कमल मगर, सिद्धार्थ लामा र भूपेन्द्र गुरुङलाई सदस्य तोकिएको छ ।
बैठकले संघको चुनावी साधारण सभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामाले जानकारी गराए । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर चुनावी साधारण सभा भदौ तेश्रो साता गर्ने गरी प्रकृया अगाडि बढाउने अध्यक्ष लामाले बताए । केन्द्रीय साधारण सभाअघि विभिन्न ५ प्रदेशमा संघ गठन गरिने छ । त्यस्तै हाल १४ जिल्लामा रहेका संघलाई पुनर्गठन गर्ने र थप ११ जिल्लामा संघ विस्तार गर्ने तयारी पनि रहेको अध्यक्ष लामाले जानकारी गराए ।

मुवाँथाईको ग्रेडिङ
मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए । २० पुरुष र २ महिला खेलाडी सहभागी थिए ।

सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए । रेड÷ह्वाइटमा १, रेडमा ३, ब्राउन ह्वाइटमा १, ब्राउनमा ३, ब्लुमा ६, ग्रिन र यल्लो ह्वाइटमा २–२ तथा यल्लो ह्वाइटमा ४ जना सहभागी थिए ।

ग्रेडिङ आयोजक संघका अध्यक्ष समेत रहेका मुख्य प्रशिक्षक गणेशलाल कक्षपतिले सञ्चालन गरेका थिए । नतिजा २ हप्तापछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ । एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको मुवाँथाईको आफ्नै हलमा भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv